आइतबार, असार २८, २०८३

डोमाको डायरी : सगरमाथाको फेदीमा डाइरिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जन्मेदेखि नै हिमाल हेर्दै हुर्केकी डोमा शेर्पालाई सानैदेखि अग्ला हिमाल चढौं-चढौं लाग्थ्यो ।सोलुखुम्बुको दुधकुन्डमाा जन्मिएकी डोमाले  विश्वकै अग्लो शिखर सगरमाथा चुम्‍ने सपना बाल्यकालमै देखेकी थिइन् । 

त्यही सपनालाई विपना बनाउन आठ वर्षअघि उनका पाइला सगरमाथातिर सोझिए । भन्छिन्, 'सन् २०१० मै आफूलाई मानसिक रूपमा तयार गरेकी थिएँ ।' 

परिवारबाट पनि सहयोग र प्रोत्साहन भएपछि सन् २०१४ मा उनले सगरमाथा चढ्ने प्रारम्भिक योजना बनाइन् र तयारीमा जुटिन् । उनका पाइला सगरमाथासम्म पुग्न त्यसपछि पनि चार वर्ष लाग्यो । एसएलसीपछि उच्चशिक्षाका लागि काठमाडौं आइन् तर डोमाको मन हिमालतिरै थियो । काठमाडौं बसेर पनि हिमालकै बारेमा सोधखोज गरिरहिन् । 

ब्रिलियन्ट मल्टिपल कलेजबाट प्लस टु गरेकी डोमाले सेफर्ड कलेजमा मिडिया प्रविधिमा स्नातक गरिन् । जब मिडिया विषय लिएर सेफर्डमा अध्ययन थालिन्, सगरमाथा चुम्ने उनको सपनाले अझै कुत्कुत्याउन थाल्यो । 

सेफर्ड कलेजले पनि उनलाई सगरमाथा चुम्न सहयोग गर्‍यो । सोही कलेजबाट अब स्नातकोत्तर गर्दैछिन् । 

२५ मंसिर ०७४ मा उनले नेपालकै आइसल्यान्ड पिक (६,१८९मिटर)को शिखर चुमिन् । गत ३१ वैशाखमा सगरमाथाको शिखर टेक्न उनको सपना, साहस र सकसको कथा कम रोमाञ्चक छैन । 

डोमासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

संसार जितेको अनुभव

'सगरमाथा चुम्न सजिलो छैन । कति संघर्ष गर्नुपर्छ, कति सकस हुन्छ, चढ्नेहरूलाई मात्र यसको कथा र व्यथा थाहा हुन्छ,' डोमा भन्छिन्, 'पाइला-पाइलमा मरिन्छ कि पुरिन्छ भन्ने डर हुन्छ । पल-पलमा जोखिम हुन्छ । यी सबैलाई सामना गर्दै सम्पूर्ण साहस बटुलेर संयमपूर्वक अगाडि बढ्नुुपर्छ ।'

उनलाई सगरमाथामा पाइला टेक्दा संसार जितेको अनुभव भयो । जब चुचुरोमा पुगिन्, त्यहीं बसिरहुँझैं लाग्यो । शिखर पुग्दा भावुक बनिन् । तर, उनको दिमागलाई शेर्पाहरूको सकसले घोच्यो । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने ठानिन् । 

सगरमाथा चढ्ने निधो गरेपछि परिवार र आफन्तबाट उनलाई निरन्तर सहयोग र प्रोत्साहन भयो । उनी भन्छिन्, 'मेरो सफलताको पछाडि मेरो दाइ सोनाम शेर्पाको ठूलो हात छ । केही गर्नुपर्छ, छोरी मान्छे भएर घरमा बस्नु हुँदैन, बाहिरको दुनियाँ हेर्नुपर्छ, रम्नुपर्छ, सबै जान्नुपर्छ भन्दै दाइले हरेक समय प्रेरित गर्नुभयो ।' 

तीन दिदी-बहिनीलाई अगाडि बढ्न हरेक पाइलामा सोनामको साथ रहने गरेको छ । डोमालाई यहाँसम्म पुर्‍याउन पनि उनकै हात छ । 
'सगरमाथा चुम्न सजिलो छैन । कति संघर्ष गर्नुपर्छ, कति सकस हुन्छ, चढ्नेहरूलाई मात्र यसको कथा र व्यथा थाहा हुन्छ ।'


पत्रकारिताको आठ वर्षे यात्रा

सोलुखुम्बूकाे दूधकुण्ड नगरपालिकाकी उनको सञ्चारकर्मीको यात्रा शुरु भएको आठ वर्ष बित्यो ।

सन् २०१४ मा हिम पहिरोमा परेर १६ जना आरोही शेर्पाहरूको मृत्यु भयो । १२ वैशाख ०७२ को विनासकारी भूकम्पले ठूलो क्षति पुग्यो, हिमालमा । तर, हिमालका दुःख हिमालमै सीमित बने । सञ्चार माध्यमले पनि 'कभर' गर्न सकेका थिएनन् । 

उनले सोचिन्, काठमाडौं बसेर अनुमानको खेती गर्नु हुँदैन, हिमालमै पुगेर वास्तविकता कोट्याउनुपर्छ । 

अनि शुरु भयो, हिमाली भेगको रहस्य, कथा र व्यथा केलाउने उनको यात्रा । उनीसहितको समूहले हिम पहिरो र भूकम्पको क्षति बेहोरेका परिवारका लागि विदेशबाट सहयोग संकलन गर्‍यो । 

मृतक आरोहीहरूका परिवारको स्थिति नाजुक थियो । स-साना बालबच्चा हुर्कंदै थिए । वृद्ध बाबुआमाको आँशु थामिएको थिएन । 

पीडित परिवारको अवस्था देखेर द्रवित बनेको उनको मन भने सगरमाथाको चुचुरोतिरै थियो । विदेशमा भएका दाजुभाइले उनका लागि आर्थिक सहयोग उपलब्ध गराउने बचन दिए । हिमालको ज्ञान बटुलिसकेकी थिइन् । सपनालाई विपना बनाउन कुनै सकस भएन । 

शेर्पाको सहयोगमा शिखर

प्रशिक्षणबिनै सगरमाथा चुमिन्, डोमाले । पर्याप्त तालिम लिएकाहरूका लागि पनि शेर्पाहरूको साथ अनिवार्य हुने गर्छ । डोमाले बिनातालिम शेर्पाको सहयोगमै शिखर चुमिन् । 

सगरमाथा आरोहणअघि उनले ओलम्पिक समिट गरिन् । त्यसक्रममा उनी दुर्घटनामा पनि परिन् । उनले हिम्मत हारिनन् । त्यसबाट सगरमाथा शिखर चुम्ने उनको लक्ष्यलाई अझ हौसला मिल्यो । 

सगरमाथालाई आरोहीहरूले नाम दिएका छन्, मृत्युको जिल्ला । विश्वको सर्वोच्च शिखर आरोहण कति कठीन छ भन्ने त्यसैबाट छर्लंग हुन्छ । 'सगरमाथा आरोहणका चुनौती शब्दमा बयान गर्न सकिँदैन,' डोमा भन्छिन्, 'खुम्बुको अाइसफलकाे पहिरो छिचोल्दै अगाडि बढ्नुपर्छ । भर्‍याङको सन्तुलन नमिलेर खोंचमा खसिने भयानक डर हुन्छ ।'

उनका अनुसार 'क्याम्प-१' र 'क्याम्प-२' बीचको ह्यांगिङ पोइन्टमा जाम हुन्छ, आरोहीहरूको । त्यस्तो जाममा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र हातखुट्टालाई समस्या हुन्छ । 

'क्याम्प-२' देखि 'क्याप-३' बीचमा जाममा पर्नु भनेको त खतराको सामना गर्नु हो । 

'तेन्जिङ-हिलारी स्टेप' यति धेरै खतरनाक र जोखिमपूर्ण छ कि कठीन चट्टानबाट गुज्रिनुपर्छ आरोहीहरूले । त्यहाँ पुग्दा चिनियाँ भूभागको दृष्यावलोकन गर्न पाइन्छ । डोमा भन्छिन्, 'त्यहाँ पुग्दा मात्र संसारभरका मानिस सगरमाथाप्रति किन लालायित छन् भन्ने थाहा पाएँ ।'


सगरमाथा फेदीमा डाइरिया

उनलाई खुम्बु हिमपहिरोमा परिने साह्रै ठूलो डर थियो रे । सामानको भारीले शरीर थिचिएको थियो । तर, शेर्पाहरूले उनलाई हौसला दिइरहे, जसले उनको मनमा शक्ति पैदा गरिरह्यो । 

त्यतिबेला उनलाई लागेको थियो, 'म एडभेन्चरमा रम्न आएकी हुँ । सगरमाथाका कथा-व्यथा बुझ्न आएकी हुँ । त्यसैले निडर भएर अगाडि बढ्नुपर्छ ।'

'क्याम्प-१, २, ३ र ४' सबै छिचोल्दै जब 'तेन्जिङ-हिलारी स्टेप' पुगिन्, वास्तविक एडभेन्चर थाहा पाइन् । उनलाई स्वर्गमा पुगेको अनुभूति भयो । 

हिमालमा अक्सिजनको अभाव हुनु स्वाभाविकै हो । उनी शाकाहारी भएकाले खानपानको पनि समस्या भयो । 'साउथ कोल' पुग्दा उनलाई झाडापखालाले सतायो । र, उनले तीन दिन त्यहीं बिताइन् । 

'आठ हजार फिटमाथि तीन दिनसम्म त्यसरी बस्नु भनेको ज्यानै जोखिममा पार्नु हो,' उनी भन्छिन्, 'तर पनि, हिम्मत हारिनँ । पखाला रोकिएपछि शिखरमा पुगिछाड्ने अठोट गरें ।'

उनी बालकोनीसम्म पुगिन्, दुई पटक शिखरतिर बढ्ने प्रयास गरिन् । तर, पाइला सरेनन् । शेर्पा आरोहीहरूले हौसला दिइरहेका थिए । उनलाई लाग्यो, 'सगरमाथा त जहाँको त्यहीं रहन्छ तर मेरो ज्यानभन्दा ठूलो केही छैन । अर्को पल्ट आउँछु ।' अनि, उनी फर्किइन् । 

'बेस क्याम्प' झरेर दुई दिन विश्राम गरिन् । अनि शिखर चुम्ने आत्मविश्वास बढाइन् । त्यसपछि उकालो लागेकी उनले शिखर चुमेर मात्र विश्राम लिइन् । 

हिमालका समस्याको फेहरिस्त

हिमाल आरोहणका समस्याका फेहरिस्त तयार पारेकी छन्, डोमाले । आरोहणका क्रममा लियाजन अधिकृतको अभाव खड्कियो, उनलाई । 

संकट आइलागे बच्ने उपाय कमजोर पाइन् । मृत्युवरण गर्न पुगेका आरोहीहरूको शव तत्काल उद्धार हुन नसक्ने समस्या देखिन् । 

शिखरमा फोहोर व्यवस्थापन हुन नसक्नु अर्को ठूलो समस्या लाग्यो, उनलाई । 'क्याम्प-३' र ४ बीचको भूभाग डम्पिङ साइटजस्तै देखिन्, डोमाले । भन्छिन्, 'आरोहीले जति पनि सामान लैजान्छन्, सबै माथि नै छाडेर फर्किन्छन् ।'
 
साउथ कोल पुग्दा खानपानको सन्तुलन मिलेन र उनी झाडापखालाका कारण सकसमा परिन् ।


अबको गोरेटो

हिमाली भेग आवाजविहीन छ । त्यहाँका महिलाको सशक्तिकरण हुन सकेको छैन । हिमाली पाखा, पखेरा चहार्दै हुर्केकी हुन्, उनी । एक सञ्चारकर्मीका रूपमा डोमालाई विकट गाउँ र ठाउँका समस्या संसारभर पुर्‍याउनुपर्छ भन्ने लागेको छ । 

हिमाली भेग महँगो छ । महँगीबाट त्राण पाउन पनि त्यस भेगका बासिन्दा विदेश पुगेर कमाउने ध्याउन्नमा हुन्छन् । कक्षा-१० सक्नासाथ सबैको रोजाइको गन्तव्य बन्छ, विदेश । 

हिमाल आरोहणमा शेर्पाहरूका दुःख नजिकबाट नियालेकी छन्, उनले । अब ती दुःख संसारलाई बुझाउने यात्राको तयारीमा छिन् । भन्छिन्, 'महिलाहरूलाई घरभित्र होइन, अगाडि आउन र केही गर्छु भन्ने आत्मविश्वास जगाउन सहयोग गर्छु ।' 

हिमाली भेगका महिलाहरूलाई स्वतन्त्रता दिइएको हुन्छ तर त्यो पनि घरभित्रको चाबी बुझाउने तहमै सीमित रहेको डोमाको बुझाइ छ । 

शेर्पा आरोहीहरूको जिन्दगी एकदमै नाजुक रहेको उनी बताउँछिन् । पाइला-पाइलामा जोखिम मोलेर हिमाल आरोहण गर्ने उनीहरूको आवाज बाहिर ल्याउन चाहन्छिन् । उनी भन्छिन्, 'वास्तविक हिरो त शेर्पाहरू हुन् । उनीहरूका कथा-व्यथा सञ्चारमाध्यममा आउन सकेका छैनन् ।' 

उनी 'इन्डिजिनियस टेलिभिजनमा 'हिमाली आज' कार्यक्रम चलाउँछिन् । र, त्यसमा शेर्पा आरोही र पर्यटनमा लागेका व्यक्तिहरूको मिहिनेतलाई प्राथमिकता दिन्छिन् । 

उनी कलेज आउँदा बोली र भाषा पनि स्पष्ट थिएन । संघर्षको परिणाम, उनले दुवै पक्षमा सुधार गर्न सकेकी छन् । उनी जन्मे/हुर्केको समुदायले पत्रकारिता पेशालाई खासै राम्रो मान्दैन । 
 
पर्याप्त तालिम लिएकाहरूलाई पनि शेर्पाहरूको साथ अनिवार्य हुन्छ । डोमाले बिनातालिम शेर्पाकै सहयोगमा शिखर चुमिन् ।


उनी भने यही पेशामा रम्ने र अगाडि बढ्ने सोचमा छिन् । हरेक महिला पत्रकारलाई उनी आत्मविश्वास अझ जगाउन आग्रह गर्छिन् । 

'खुलेर बोल्ने र डकुमेन्ट्री बनाउनेलगायत सबै काम हामी गर्न सक्छौं,' उनी भन्छिन्, 'त्यसकारण खुलेर आवाज उठाउनै पर्छ । हामीले पनि पुरुषसरह काम गर्न सक्छौं ।'

सगरमाथा शिखर चुम्ने शेर्पा समुदायकी पहिलो महिला पत्रकार हुन् उनी । भन्छिन्, 'पत्रकार साथीहरू, शेर्पा आरोहीका समस्या बुझ्न एक पटक हिमाली भेग पुग्नु होला । कम्तिमा बेस क्याम्पसम्म पुग्नु होला । केन्द्रमा बसेर हिमालका समाचारलाई प्राथमिकताका साथमा आफैं त्यहाँ पुगेर समस्या बुझिदिनु होला ।'

शेर्पा आरोहीका सन्तानका लागि अलग्गै विद्यालयको व्यवस्था मिलाउन सके शिक्षादीक्षाको पाटोमा ठूलो योगदान पुग्ने उनले बुझेकी छन् । हिमाल चढ्दा चढ्दै शरीर शिथिल भइसकेका शेर्पाहरूका लागि ५० वर्षमै वृद्धभत्ताको व्यवस्था मिलाउन सके जीवन चलाउन राहत पुग्ने उनी बताउँछिन् । 

र, घाइते शेर्पा आरोहीहरूको लागि सरकारले जीविकोपार्जनको गोरेटो पहिल्याइदिनुपर्ने बताउँछिन् । 
(तस्बिर र भिडियो : सन्ध्या श्रेष्ठ/नेपाल समय)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।