काठमाडौं- गन्तव्य मुक्तिनाथ । अगाडि धुम्म परेर उभिएको थियो, पहाड । वेगमा बगेको खोलो तर्दै गर्दा बीचमै अड्कियो, अतीत श्रेष्ठको बाइक । जुत्ता मात्र होइन, पाइन्ट पनि भिज्यो ।
एक्सिलेटर घुमाउँदा साइलेन्सरबाट चर्को आवाजसँगै धुवाँको मुस्लो निस्कियो । तर, खोला पार गर्न सकेनन् । र, उनी बाइकसँगै अलपत्र परे ।
पारि पुगिसकेका साथीहरू उनलाई पर्खिरहेका थिए । उनीहरू फर्केर अतीतलाई निस्किन मद्दत गरे । पारि तरेर बाइक स्टार्ट गर्न खोजे तर भएन । मोबाइलको नेटवर्क थिए । नजिकमा बजार थिएन, वर्कसप हुने कुरै भएन ।
अचानक बिग्रिएको बाइक बनाउने सीप थिएन, कसैसँग । बाइक ठेल्दै र बोक्दै मुक्तिनाथ पुग्नुको विकल्प रहेन ।
त्यस यात्रामा बटुलेका अनुभव उनको मानसपटलमा झल्झली आउँछन्, अझै । भन्छन्, 'बाइक राइडिङ जोखिमपूर्ण हो र राइडरलाई त्यही जोखिमसँग खेल्ने रहर हुन्छ ।'
मुलुकका कुना कन्दरासम्म कोरिएका छन्, सडकका धर्साहरू अहिले । तीमध्ये अधिकांश सडकमा सार्वजनिक सवारी साधन चल्दैनन् । तर, राजधानीका बाइक राइडरहरूका लागि तिनै धर्साहरू अवसर बनेका छन् ।
पहाडी कुनाकन्दरा र हिमालका फेदीतिर बाइकमा हुइँकिइरहेका छन्, आजकाल उनीहरू । ग्राभेल होस् या धुले सडक, उनीहरू छिचोलिरहेका छन्, निष्फिक्री । र, अर्गानिक हावासँग ठोक्किँदै दौडिरहेछन्, बाइक राइडरहरू ।
'रहरहरू मनोरञ्जनमा खुल्छन् र त्यही मनोरञ्जन बटुल्ने रहरले जोखिम उठाउन प्रेरित गर्छ ।'
सोखले जन्माएका राइडर
मोटरबाइक आवश्यकता र विलासिता दुवै हो । तर, राइडिङकै लागि बनेका बाइक आवश्यकताभन्दा ज्यादा सोख हुन् ।
उच्च र मध्यम घरानाका युवाका लागि बाइक सोख पूरा गर्ने माध्यम बनेका छन् । यसैलाई व्यवसायको माध्यम पनि बनाउन लागिपरेका छन्, युवा ।
'चार पांग्रेको भर हुन्छ, दुई पांग्रेको हुँदैन ।' नेपाली समाजमा जनजिब्रोमा झुण्डिएको छ, यो वाक्यांश । तर, त्यही दुई पांग्रे नेपालका सडकमा बढी गुड्छन् ।
१४ वर्षको उमेरमा बाइक चलाउँदा खाल्टोमा परेका थिए, अतीत । सोही कारण अभिभावकको थप्पड पाएका थिए, उनले । बाइक राइडर बन्ने सोख पूरा गर्न अतीतले अभिभावकको साथ पाएका होइनन् । तर, उनले आफ्नो सपना पूरा गरिछाडे ।
उनको सोखको गन्तव्य एउटा क्याफेमा पुगेर टक्क अडियो । अनि, यात्रा पनि त्यही विन्दुबाट प्रारम्भ भयो । काठमाडौं पानीपोखरीमा उनले खोलेको 'जेनेसिस क्याफे' बाइक राइडरहरू भेला हुने गन्तव्य बनेको छ, अहिले । नेपालका व्यावसायिक राइडरहरू उनकै क्याफेमा भेटिन्छन् ।
राइडर नै रेसर
तिनैमध्येका हुन्, २९ वर्षका विवेश श्रेष्ठ । खुट्टा र हातको लिगामेन्ट भाँच्चिइसक्दा पनि उनी 'लङ ड्राइभ'मा निस्किन छाडेका छैनन् ।
भर्खरै उनले १६ दिनको ट्रिप पूरा गरे । चितवन, बुटवल, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरको फेरो मारे । भाँच्चिएको हातमा लगाएका टाँकाको डाम देखाउँदै उनी भन्छन्, 'बाइक राइडर हुने जोशले दिएको परिणाम हो यो ।'
उनको बाइक हो, आरएन–टु । उनलाई कम्पनीले पनि सौजन्यस्वरूप बाइक दिएको छ । उनी एक्लै यात्रा गर्न रूचाउँछन् । भन्छन्, 'यसैमा फ्युचर खोजिरहेको छु, हेरौं कति सफल हुन्छु ।'
बाइक राइडिङलाई नै पेसा बनाउन सकिने सम्भावना न्यून छ, नेपालमा अझै । विवेश भने बाइक कम्पनीमै काम गर्छन् । र, सोख पूरा गर्न बाइक सपमा पनि काम गरे । टीभीमा बाइक रेस हेरेर हुर्किएका उनले आफैं राइडर बन्ने सोचेका थिएनन् रे ।
बाइक राइडर नै औंलामा गन्न सकिने संख्यामा रहेको मुलुकमा रेसर त टाढाको कुरा भयो । राइडर बन्न जति सजिलो छ, रेसर त्यति नै गाह्रो पनि ।
काठमाडौं उपत्यकामा २० भन्दा बढी बाइक राइडर ग्रुप छन् ।
विवेशले एसियन च्याम्पिनसिप खेले । र, २०१७ को नेसनल च्याम्पियनसिप जिते पनि । उक्त प्रतियोगितामा हरेक वर्ष नेपाली युवाले सहभागिता जनाइरहेका छन् ।
'बाइक राइडिङ जोखिमपूर्ण हो र राइडरलाई त्यही जोखिमसँग खेल्ने रहर हुन्छ ।'
जहाँ जोखिम, त्यहीं राइडिङ
बाइक राइडिङलाई महँगो खेलको संज्ञा दिन्छन्, विवेश । हरेक ट्रिपमा कति खर्च होला ? उनको भनाइमा त्यो ४० हजार रुपैयाँसम्म पुग्छ ।
यो सरकारी प्राथमिकतामा पर्न सकेको छैन । 'अझै यसलाई खेलका रूपमा स्वीकारिएको छैन,' विवेश भन्छन्, 'स्वीकारियो भने संसारभरका पर्यटक भित्र्याउन सकिन्छ ।'
जहाँ बाइक पुर्याउनै जोखिम हुन्छ, राइडरलाई त्यही गन्तव्य नाप्ने तीव्र इच्छा हुन्छ । सडक नपुगेको ठाउँ भए निर्माणकै लागि पनि तम्सिन्छन् । विकसित मुलुकमा सरकारी प्रयासमै बाइक राइडिङको प्लेटफर्म निर्माण भएको हुन्छ ।
जोखिम र सोख दुवै हो, राइडिङ । नेपालका राइडरहरू भने यसलाई खेलको रूप दिन लागिपरेका छन् ।
मेचीदेखि महाकालीसम्मको गन्तव्य नापिसकेका अतीत भन्छन्, 'राइडरले बाइक मात्रै हुइँक्याउँदैन, सपना पनि दौडाइरहेको हुन्छ ।'
एक पटक उनलाई इलाम पुग्नु थियो । तर, धुलिखेल–बर्दिवास पक्की सडकलाई माध्यम बनाउनु थिएन । र, घुर्मी, हलेसी, दिक्तेल, भोजपुर हुँदै धरान निस्किएर इलाम पुगे । कति ठाउँमा सडक खन्दै गरेको डोजरका चालकलाई अनुरोध गरेर पनि उनले गन्तव्य पहिल्याइछाडे ।
जनचेतना अभियानमा पनि
'गुकी' नामले चिनिन्छन्, प्रख्यात बाइक राइडर प्रमोद श्रेष्ठ । पार्किन्सन्स रोगबारे जनचेतना जगाउने उद्देश्यले उनले २४ घण्टे मेची–महाकाली यात्राको जोखिम उठाए । र, पूरा गरिछाडे ।
पछिल्ला दिनमा उनीहरूको सोख सिक्ने र सिकाउने माध्यम पनि बनिरहेको छ । दूरदराजमा गाउँलेसँगको भलाकुसारीमा उनीहरू नतमस्तक बन्छन् । र, स्थानीय खानासँग लठ्ठिन्छन् ।
'समूहमा राइडिङको मज्जै बेग्लै,' अतीत भन्छन्, 'एउटै परिवारजस्तो लाग्छ, आत्मीयता अझ गाढा बन्छ ।'
दुर्गम गाउँको भाषा र संस्कृतिसँग साक्षात्कार गर्न पाउनुलाई उनी सुखद पक्ष मान्छन् ।
गाउँका भन्दा राजधानीका सडकमा हुइँकिन उनीहरूलाई सकस हुन्छ । अधिकांश ट्रिपको कुनै लक्ष्य हुँदैन । बिनालक्ष्य स-साना गाउँ छिचोल्दै अगाडि बढ्नुको मज्जा उनीहरू शब्दमा वर्णन गर्न सक्दैनन् । रहरहरू मनोरञ्जनमा खुल्छन् र त्यही मनोरञ्जन बटुल्ने रहरले जोखिम उठाउन प्रेरित गर्छ ।
(तस्बिरहरू: अतीत श्रेष्ठको फेसबुकबाट)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४