आइतबार, असार २८, २०८३

जोखिमको सोख अर्थात् बाइक राइडिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गन्तव्य मुक्तिनाथ । अगाडि धुम्म परेर उभिएको थियो, पहाड । वेगमा बगेको खोलो तर्दै गर्दा बीचमै अड्कियो, अतीत श्रेष्ठको बाइक । जुत्ता मात्र होइन, पाइन्ट पनि भिज्यो । 

एक्सिलेटर घुमाउँदा साइलेन्सरबाट चर्को आवाजसँगै धुवाँको मुस्लो निस्कियो । तर, खोला पार गर्न सकेनन् । र, उनी बाइकसँगै अलपत्र परे । 

पारि पुगिसकेका साथीहरू उनलाई पर्खिरहेका थिए । उनीहरू फर्केर अतीतलाई निस्किन मद्दत गरे । पारि तरेर बाइक स्टार्ट गर्न खोजे तर भएन । मोबाइलको नेटवर्क थिए । नजिकमा बजार थिएन, वर्कसप हुने कुरै भएन । 

अचानक बिग्रिएको बाइक बनाउने सीप थिएन, कसैसँग । बाइक ठेल्दै र बोक्दै मुक्तिनाथ पुग्नुको विकल्प रहेन । 

त्यस यात्रामा बटुलेका अनुभव उनको मानसपटलमा झल्झली आउँछन्, अझै । भन्छन्, 'बाइक राइडिङ जोखिमपूर्ण हो र राइडरलाई त्यही जोखिमसँग खेल्ने रहर हुन्छ ।'

मुलुकका कुना कन्दरासम्म कोरिएका छन्, सडकका धर्साहरू अहिले । तीमध्ये अधिकांश सडकमा सार्वजनिक सवारी साधन चल्दैनन् । तर, राजधानीका बाइक राइडरहरूका लागि तिनै धर्साहरू अवसर बनेका छन् । 

पहाडी कुनाकन्दरा र हिमालका फेदीतिर बाइकमा हुइँकिइरहेका छन्, आजकाल उनीहरू । ग्राभेल होस् या धुले सडक, उनीहरू छिचोलिरहेका छन्, निष्फिक्री । र, अर्गानिक हावासँग ठोक्किँदै दौडिरहेछन्, बाइक राइडरहरू । 
 

'रहरहरू मनोरञ्जनमा खुल्छन् र त्यही मनोरञ्जन बटुल्ने रहरले जोखिम उठाउन प्रेरित गर्छ ।'


सोखले जन्माएका राइडर

मोटरबाइक आवश्यकता र विलासिता दुवै हो । तर, राइडिङकै लागि बनेका बाइक आवश्यकताभन्दा ज्यादा सोख हुन् । 

उच्च र मध्यम घरानाका युवाका लागि बाइक सोख पूरा गर्ने माध्यम बनेका छन् । यसैलाई व्यवसायको माध्यम पनि बनाउन लागिपरेका छन्, युवा । 

'चार पांग्रेको भर हुन्छ, दुई पांग्रेको हुँदैन ।' नेपाली समाजमा जनजिब्रोमा झुण्डिएको छ, यो वाक्यांश । तर, त्यही दुई पांग्रे नेपालका सडकमा बढी गुड्छन् । 

१४ वर्षको उमेरमा बाइक चलाउँदा खाल्टोमा परेका थिए, अतीत । सोही कारण अभिभावकको थप्पड पाएका थिए, उनले । बाइक राइडर बन्ने सोख पूरा गर्न अतीतले अभिभावकको साथ पाएका होइनन् । तर, उनले आफ्नो सपना पूरा गरिछाडे । 

उनको सोखको गन्तव्य एउटा क्याफेमा पुगेर टक्क अडियो । अनि, यात्रा पनि त्यही विन्दुबाट प्रारम्भ भयो । काठमाडौं पानीपोखरीमा उनले खोलेको 'जेनेसिस क्याफे' बाइक राइडरहरू भेला हुने गन्तव्य बनेको छ, अहिले । नेपालका व्यावसायिक राइडरहरू उनकै क्याफेमा भेटिन्छन् । 


राइडर नै रेसर

तिनैमध्येका हुन्, २९ वर्षका विवेश श्रेष्ठ । खुट्टा र हातको लिगामेन्ट भाँच्चिइसक्दा पनि उनी 'लङ ड्राइभ'मा निस्किन छाडेका छैनन् । 

भर्खरै उनले १६ दिनको ट्रिप पूरा गरे । चितवन, बुटवल, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरको फेरो मारे । भाँच्चिएको हातमा लगाएका टाँकाको डाम देखाउँदै उनी भन्छन्, 'बाइक राइडर हुने जोशले दिएको परिणाम हो यो ।'

उनको बाइक हो, आरएन–टु । उनलाई कम्पनीले पनि सौजन्यस्वरूप बाइक दिएको छ । उनी एक्लै यात्रा गर्न रूचाउँछन् । भन्छन्, 'यसैमा फ्युचर खोजिरहेको छु, हेरौं कति सफल हुन्छु ।'

बाइक राइडिङलाई नै पेसा बनाउन सकिने सम्भावना न्यून छ, नेपालमा अझै । विवेश भने बाइक कम्पनीमै काम गर्छन् । र, सोख पूरा गर्न बाइक सपमा पनि काम गरे । टीभीमा बाइक रेस हेरेर हुर्किएका उनले आफैं राइडर बन्ने सोचेका थिएनन् रे । 

बाइक राइडर नै औंलामा गन्न सकिने संख्यामा रहेको मुलुकमा रेसर त टाढाको कुरा भयो । राइडर बन्न जति सजिलो छ, रेसर त्यति नै गाह्रो पनि । 

काठमाडौं उपत्यकामा २० भन्दा बढी बाइक राइडर ग्रुप छन् । 

विवेशले एसियन च्याम्पिनसिप खेले । र, २०१७ को नेसनल च्याम्पियनसिप जिते पनि । उक्त प्रतियोगितामा हरेक वर्ष नेपाली युवाले सहभागिता जनाइरहेका छन् । 
 

'बाइक राइडिङ जोखिमपूर्ण हो र राइडरलाई त्यही जोखिमसँग खेल्ने रहर हुन्छ ।' 


जहाँ जोखिम, त्यहीं राइडिङ

बाइक राइडिङलाई महँगो खेलको संज्ञा दिन्छन्, विवेश । हरेक ट्रिपमा कति खर्च होला ? उनको भनाइमा त्यो ४० हजार रुपैयाँसम्म पुग्छ ।

यो सरकारी प्राथमिकतामा पर्न सकेको छैन । 'अझै यसलाई खेलका रूपमा स्वीकारिएको छैन,' विवेश भन्छन्, 'स्वीकारियो भने संसारभरका पर्यटक भित्र्याउन सकिन्छ ।' 

जहाँ बाइक पुर्‍याउनै जोखिम हुन्छ, राइडरलाई त्यही गन्तव्य नाप्ने तीव्र इच्छा हुन्छ । सडक नपुगेको ठाउँ भए निर्माणकै लागि पनि तम्सिन्छन् । विकसित मुलुकमा सरकारी प्रयासमै बाइक राइडिङको प्लेटफर्म निर्माण भएको हुन्छ । 

जोखिम र सोख दुवै हो, राइडिङ । नेपालका राइडरहरू भने यसलाई खेलको रूप दिन लागिपरेका छन् । 

मेचीदेखि महाकालीसम्मको गन्तव्य नापिसकेका अतीत भन्छन्, 'राइडरले बाइक मात्रै हुइँक्याउँदैन, सपना पनि दौडाइरहेको हुन्छ ।'

एक पटक उनलाई इलाम पुग्नु थियो । तर, धुलिखेल–बर्दिवास पक्की सडकलाई माध्यम बनाउनु थिएन । र, घुर्मी, हलेसी, दिक्तेल, भोजपुर हुँदै धरान निस्किएर इलाम पुगे । कति ठाउँमा सडक खन्दै गरेको डोजरका चालकलाई अनुरोध गरेर पनि उनले गन्तव्य पहिल्याइछाडे । 



जनचेतना अभियानमा पनि

'गुकी' नामले चिनिन्छन्, प्रख्यात बाइक राइडर प्रमोद श्रेष्ठ । पार्किन्सन्स रोगबारे जनचेतना जगाउने उद्देश्यले उनले २४ घण्टे मेची–महाकाली यात्राको जोखिम उठाए । र, पूरा गरिछाडे । 

पछिल्ला दिनमा उनीहरूको सोख सिक्ने र सिकाउने माध्यम पनि बनिरहेको छ । दूरदराजमा गाउँलेसँगको भलाकुसारीमा उनीहरू नतमस्तक बन्छन् । र, स्थानीय खानासँग लठ्ठिन्छन् । 

'समूहमा राइडिङको मज्जै बेग्लै,' अतीत भन्छन्, 'एउटै परिवारजस्तो लाग्छ, आत्मीयता अझ गाढा बन्छ ।'

दुर्गम गाउँको भाषा र संस्कृतिसँग साक्षात्कार गर्न पाउनुलाई उनी सुखद पक्ष मान्छन् । 

गाउँका भन्दा राजधानीका सडकमा हुइँकिन उनीहरूलाई सकस हुन्छ । अधिकांश ट्रिपको कुनै लक्ष्य हुँदैन । बिनालक्ष्य स-साना गाउँ छिचोल्दै अगाडि बढ्नुको मज्जा उनीहरू शब्दमा वर्णन गर्न सक्दैनन् । रहरहरू मनोरञ्जनमा खुल्छन् र त्यही मनोरञ्जन बटुल्ने रहरले जोखिम उठाउन प्रेरित गर्छ । 

(तस्बिरहरू: अतीत श्रेष्ठको फेसबुकबाट)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।