‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा,
हुम्ला कैले मोटर पुग्ला बस्याकाे छु हेर्ने रहरैमा।’
गीतका शब्दमा कर्णालीको पीडा पोखिएको छ। सहर र गाउँबीचको अन्तर व्यक्त भएको छ।
सिटामोलको अभावमा मर्नुपर्ने कोही,
चोट लागे भोक लागे पनि बाँच्नुपर्ने रोई हजुर...
पीडा र अभावका शब्द कर्णालीको सुसेलीजस्तै बगेका छन्। गीतका शब्द जति गहकिला छन् त्यतिकै मिठो संयोजन पनि।
एक छाक खान हुम्लावासीले पाएको दुःख। अनि बालबालिकाले ज्यानको बाजी राखेर स्कुल जान लागेको दृश्य।
शब्द जतिकै बलियो अनि मिठो स्वर दिएर गीतलाई जीवन्त बनाएका छन् गायक सुरज पण्डितले।
सुरज आफैंले हुम्लावासीको पीडा भोगेका छन्। चाहे एक गास भातका लागि होस् चाहे अस्पताल नपाएर ज्यान गुमाउनुपरेको पीडा, उनले नजिकबाट नियालेका छन्।
उनलाई हुम्लावासीको वेदना सहरसम्म पुर्याउनु थियो। सहरको मात्रै जिन्दगी होइन, हुम्लावासीको पनि जिन्दगी छ भन्नु थियो।
कर्णालीवासीका मसिना–मसिना सपनासमेत ओझेलमा परेका छन्। ‘कर्णालीको पीडा मैले महसुस मात्रै गरेको छैन भोगेको पनि छु’, रेलको बाटोका गायक तथा संगीतकार सुरज पण्डित भन्छन्, ‘सिटामोल अभावमा तड्पिएका र बाटो अभावले निसास्सिएकाहरुलाई देखेको छु।’
गीतमार्फत् भए पनि आफ्नो ठाउँको दुःखलाई श्रोतादर्शकसम्म पुर्याउन पाएकोमा उनी सन्तुष्ट छन्।
‘तुइन चढी स्कुल जान्छन् नानीबाबु गाउँमा
कालोबाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर’ ...
प्राकृतिक सौन्दर्यले ओतप्रोत कर्णाली विकासको अभावले भने विकट छ।
‘सहरमा रेलको कुरा हुन्छ तर हुम्लावासीले गाडी हेर्न पनि दुईतीन दिन हिँड्नुपर्छ। कर्णालीवासीको सुख भोग गर्ने भाग्य नै नभएको हो त?’ उनको प्रश्न छ। हुम्लावासीले देखेको सपना कर्णालीसँगै बगेर जान्छन्।
‘खच्चर मेरा गाडी मोटर सँगै हिँड्ने भीरमा
नुनको भारी पिठ्यूँमा नाम्लो मेरो शिरमा’
फाटेका चप्पल लगाएका, खान नपाएका र जरो आउँदा सिटामोल नपाएका कर्णालीवासीलाई देख्दा आफ्नो मनमा भक्कानो छुट्ने गरेको उनी बताउँछन्।
उनी भन्छन्, ‘यस्तो पीडा पोखेर मन हलुका बनाउन खोज्दा रेलको बाटो जन्मिएको हो।’ कक्षा सातमा पढ्दा उनले पहिलो पटक बाइक देख्न पाए। निकै बेर हेरिरहे, फर्किफर्की।
‘पहिलोपटक बाइक देख्दा अचम्म लाग्यो। ट्याक्टर चढ्न घण्टौंसम्म ढुंगा लोड गथ्र्यौं’, सुरज भन्छन्, ‘कर्णालीको पीडा शब्दमा बयान गर्न सकिँदैन तर पनि सानो प्रयास गरेको छु।’
‘चोट लागे भोक लागे पनि बस्नुपर्ने रोई हजुर’...
हुम्लाको पीडा कर्णालीको सुसाइले मात्रै सुन्छ र लैजान्छ कहिल्यै नफर्किने गरी। एक दिन सुरजले हार्मोनियम बजाइरहेका थिए। उनले समाचार सुने– सरकारले नेपालमा रेल आउँदै छ।
उनको मनमा प्रश्न उब्जियो– सहरमा रेल आउने भयो तर कर्णालीमा?
उनी भन्छन्, ‘अनि फुर्यो रेलको बाटो।’
त्यसपछि लेखियो लेखराज गिरीको शब्दमा, ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा, हुम्ला कैले मोटर पुग्ला बस्याको छु हेर्ने रहैरैमा।’
गिरीले पनि त नजिकबाट नियालेका थिए कर्णालीका पीडा।
शब्द तयार भयो। सुरजले संगीत भरे। गीत बजारमा आए पनि भिडियो आएन। कारण हुम्ला गएर भिडियो बनाउन सजिलो थिएन।
‘हुम्लामा सडक नपुगेकाले टिम लिएर जान गाह्रो भयो। भिडियो बनाउन सकेनौं’, सुरजले भने।
उनले फोटो र ससाना भिडियो क्लिप मगाएर भिडियो बनाएका छन्।
सुरजले त्यसरी बनाएकाे भिडियाेपछि याे गीतमा कलाकार जीवी चिरनलगायतले भिडियाे तयार गरेका छन्। जुन भिडियाेले धेरैकाे मन जित्न सफल भएकाे थियाे।
सुरजले डेढ दर्जन गीतमा स्वर भरिसकेका छन्। उनको पहिलो गीत २०६९ सालमा ‘माया गर्ने जीवनसाथी’ हो।
‘जुम्ला र हुम्लामा जन्मिनुमा कुनै फरक छैन। कर्णालीबासीको पीडा, अभाव र रोदन एउटै हो’, सुरज भन्छन्।
सुरजले जोड्यौ नाता सिन्दुरको, मिस्टर भर्जिनको ‘ए मेरी टुल्कि’ लगायत थुप्रै गीत गाइसकेका छन्।
‘दाउरा घाँस खाली खुट्टा छैन चप्पल जुत्ता
रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता हजुर ...
सुरजको लक्ष्य खेलाडी बन्ने थियो, तर भए गायक। ‘सपना खेलाडी बन्ने थियो तर गायक भइयो, सानो छँदा गीत गुन्गुनाउँथे तर गायक बन्छु भन्ने थिएन’,उनी भन्छन्।
सुरज २०६८ सालको क्षेत्रीय खेलकुद १० हजार मिटर म्याराथनका स्वर्ण पदक विजेता हुन्।
उनको राष्ट्रिय खेलाडी बन्ने सपना पूरा हुँदै थियो। डाक्टरले ढाडको समस्या देखाएपछि उनी खेल्न नसक्ने भए।
‘राष्ट्रिय खेलाडी बनेर देशको नाम राख्ने इच्छा थियो। स्वास्थ्यले साथ दिएन’, सुरज भन्छन्, ‘सन्तुष्टिका लागि गीत गाउँछु यसमै रमाइरहेको छु।’
२०४७ सालमा चन्दननाथ–४ जुम्लामा जन्मिएका सुरजले १२ कक्षासम्म पढेका छन्।