दाङ - दाङमा स्कुल बस दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कुलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटना भएको हो।
दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा २२ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये पाँचजनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ।
अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
तुलसीपुर उपमहानगरपालिका–१५, कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। रासस