बुटवल- रुपन्देहीमा बलत्कारपछि हत्या प्रयास गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन्।
पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा नवलपरासी जर्गास्थित जनपथ प्रहरीका जवान सुरेश कठारिया (थारु) लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बेहोस अवस्थामा जंगलमा युवतीलाई स्थानीयले उद्धार गरेका थिए। स्थानीय उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा १९ वर्षीय युवतीले आफूलाई जबरजस्तीकरणी गरी घाँटी थिचेर हत्याको प्रयास गरेको बताएकी थिइन्। उक्त बयानका आधारमा प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको हो।
कानूनको रक्षक प्रहरी जवानकै संलग्नतामा घटना भएकाले यो घटना लुक्नसक्ने आशंका गरिएको थियो। तर, स्थानीयहरुले निलडामसहित बेहोस अवस्थामा युवतीको उद्धार गरिएपछि घटना सार्वजनिक भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए। उनका अनुसार पक्राउ परेका प्रहरी जवानलाई नियन्त्रणमा लिइसकेको र अन्य व्यक्तिहरुको संलग्नताको खोजी भइरहेको छ।
सामाजिक सञ्जालमार्फत् चिनजान भएकी युवतीलाई प्रहरी कर्मचारीले पटकपटक भेट्न दबाब दिने गरेको पीडितकी दिदिले बताएकी छिन्। घाइते युवतीकी दिदीका अनुसार आर्थिक सहयोग गर्ने आश्वासन दिँदै ललाइफकाई गरी बलात्कार गरेको हुनसक्ने बताइन्। उनले घटना सार्वजानिक हुने डरले हत्याको प्रयास गरेको समेत बताइन्।
प्रहरीले जबर्जस्तीपछि डोरीले घाँटीमा बेरेर हत्या प्रयास गरेको पीडित युवतीको भनाइ छ। ज्याला मजदुरी गरेर परिवार पालेका युवतीकी आमाले छोरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन्।
सापटी मागेर छोरीको उपचार गराइरहेको परिवारले बताएका छन्। युवतीलाई ललाईफकाई जबरबस्ती करणी गरी युवकले हत्या प्रयास गरेको हुनसक्ने प्रहरीले जनाएको छ।