काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरू तयार भएमा उपसभामुखको निर्वाचनका लागि आफू तयार रहेको बताएका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सापकोटाले उपसभामुख निर्वाचनका लागि आफू तयार रहेको बताएका हुन्।
तत्कालीन उपसभामुख शिवमाया तम्बाहाङ्म्फेले माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यसपछि उक्त पद खाली छ।
उनले प्रधानमन्त्रीसित छलफल गरेर संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। यसका लागि उनले प्रधानमन्त्री केपी ओलीसँग समय मागेका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले जानकारी दिए
संसदमा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको सभामुखको भनाइ छ।
प्रतिनिधिसभा पुनः स्थापना भएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्नेमा प्रतिनिधिसभामा अवरोध भएकाले टेबुल हुन नसकेको सभामुखको प्रष्टिकरण थियो।
सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने आफ्नो कहिले मनसाय नरहने उनको भनाइ छ। उनले आफूले जहिले पनि निष्पक्ष र तटस्थ रहेर भूमिका निर्वाह गर्दै आइरहेको बताए। उनले आफूले सरकारलाई जहिल्यै सहयोग गर्ने बताए।