काठमाडौं – उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपबाट बाहिरिएको छ।
आइतबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा लेस्टर सिटीविरुद्ध जित निकाल्न नसकेपछि युनाइटेड बाहिरिएको हो।
सेमिफाइनलको यात्रा गरेको लेस्टर सिटीका लागि केलेची इहेन्चान्होले दोहोरो गोल गरे भने योहुरी टेलिमान्सले एक गोल गरे।
युनाइटेडका मेसन ग्रिनवूडले तीनका विरुद्ध एक गोल फर्काएका थिए।
खेलको २४ औं मिनेटमा लेस्टरका केलेचीले बनाएको अग्रता ३८ औं मिनेटमा ग्रिनवूडले भंग गरेका थिए। यससँगै पहिलो हाफ बराबरी भयो।
तर, दोस्रो हाफमा युनाइटेडले आफ्नो पोस्ट् सम्हाल्न नसक्दा गोल खान पुग्यो। र, ३–१ गोलको हार बेहोर्दै सेमिफाइनल पुग्नबाट चुक्यो।
अब लेस्टरले सेमिफाइनलमा साउथह्याम्टनको सामना गर्नेछ।