काठमाडौं – फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ।
लियोनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले ४–२ को जित निकालेको हो।
पीएसजीलाई जित दिलाउले क्रममा केलियन एम्बाप्पेले दुई गोल गरे। योसँगै रेवेली सेन्ट इटिएनले १९६९ मा बनाएको रेकर्ड भंग गरेर एम्बाप्पेले आफ्नो रेकर्ड कायम गरेका छन्।
अब सबभन्दा सानो उमेरमा १०० गोल पुर्याउने लिग वानका खेलाडी बनेका छन् केलियन एम्बाप्पे।
आइतबार राति ड्यानियलो परेराले २–० को अग्रता बनाउनुअघि एम्बाप्पेले सुरुआती गोल गरेका थिए।
त्यस्तै दोस्रो हाफमा एन्जल डी मारियाले गोल गरेलगत्तै एम्बाप्पेले दोस्रो गोल गरेर खेलको ५२ औं मिनेटमा कीर्तिमान बनाएका हुन्।
यससँगै लियोनको इस्लम स्लिमानी र म्याक्सवेल कर्नेटले गोल फर्काएपछि खेलको नतिजा ४–२ बनेको थियो।
यो जितले पीएसजीलाई फ्रेन्च फुटबल लिगको शीर्षस्थानमा पुर्याएको छ।
समान ६३ अंक भएको लिल्ललाई गोलअन्तरका आधारमा पछि पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो।
दुवै टिमले समान ३० खेल खेलेका छन्। पराजित लियोन भने ६० अंकका साथ तेस्रोे स्थानमा छ।
गएरातिको जितसँगै ब्राजिलियन फरवार्ड नेयमार पनि ६ हप्ताको उपचारपछि मैदान फर्किएका छन्। उनले चोटका कारण च्याम्पियन्स लिगमा बार्सिलानाविरुद्धको खेल गुमाएका थिए।