काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले त्रिदेशीय फुटबल सिरिजका लागि तोकिएको साधारणतर्फको टिकट महँगो नभएको दाबी गरेका छन्।
टिकट महँगो भएको गुनासो समर्थकबाट आएपछि प्रवक्ता राईले यस्तो प्रष्टीकरण दिएका हुन्। एन्फाले साधारणतर्फ ७ सय र भीआईपीलाई १५ सय रूपैयाँ टिकटको व्यवस्था गरेको छ। प्रवक्ता राईले भने, ‘अन्तर्राष्ट्रिय खेलका लागि यो महँगो होइन। कतिपय देशमा घरेलु लिगकै योभन्दा निकै धेरै रकम तिर्नुपर्छ।’
उनले थपे, ‘हामीलाई फुटबल व्यावसायिक बनाउने पनि जिम्मेवारी छ। त्यसबारे पनि सोच्नुपर्छ। फुटबल समर्थकलाई यो रकम धेरै होइन।’ रंगशालामा हेर्न आउन नसक्ने, टाढा भएका र रकम तिर्न अभाव हुने समर्थकले नेपाल टेलिभिजनबाट लाइभ हेर्न सकिने उनले बताए।
चैत १० गतेबाट हुने सिरिजका सबै खेल नेपाल टेलिभिजनमा प्रसारण हुनेछ। एन्फाले मेडिसिटीलाई मेडिकल पार्टनर बनाएको छ। अब अस्पतालले राष्ट्रिय खेलाडी र ए डिभिजन लिग खेल्ने खेलाडीलाई पनि पाँच लाखसम्मको उपचार गर्नेछ। त्यस्तै बी र सी डिभिजन खेलाडीका लागि ३ लाखसम्मको उपचार हुनेछ।
एन्फा र मेडिसिटी अस्पतालले प्रभु इन्स्योरेन्सरेन्ससँग सहकार्य गरेर खेलाडीको उपचार गर्ने बताएका छन्। प्रभु इन्स्योरेन्समा बिमाको लागि प्रतिखेलाडी १५ सय रूपैयाँ एन्फाले दिनेछ। त्यस्तै, एन्फा कर्मचारी र मोफसलका प्रतियोगिताका खेलाडीका लागि र खेलाडीका परिवारका सदस्यहरुलाई पनि सहयोग उपलब्ध गराउने एन्फाले बताएको छ।