कैलाली- डडेल्धुरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषाको हत्या गरेको प्रहरीले जनाएको छ।
काठको चिर्पटले हिर्काएर श्यामले श्रीमती मनिषाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नावय निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
हिजो दिउँसो ३ बजे श्यामले श्रीमतीको हत्या गरेर बेलुका ७ बजे प्रहरीलाई फोन गरेर खबर गरेका थिए।
साउँदलाई हिजो राति पक्राउ गरेर सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए। सामान्य घरायसी विवादमा उनले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए।
‘म बाहिर थिएँ, घरमा आउँदा श्रीमतीलाई रक्ताम्य देखेँ। मृत्यु भइसकेको जस्तो छ भनेर साउँदले फोनमार्फत् खबर गरेका थिए चन्दले भने, प्रहरी टोली घटनास्थल पुग्दा मनिषाको मृत्यु भइसकेको थियो। प्रहरीको केरकारपछि उनले आफैँले श्रीमतीको हत्या गरेको स्वीकार गरे।
मनिषाको शव पोष्टमार्टका लागि डडेल्धुरा अस्पताल राखिएको उनले बताए। मनिषाका एक छोरा र एक छोरी छन्