काठमाडौं – नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले ‘क्युब्स इन स्पेस’ नासो–२०२१ कार्यशालाको आयोजना गर्ने भएको छ।
नासोले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै अप्रिल १० देखि मे १५ (चैत २८–जेठ १) सम्म कार्यशाला गर्ने जनाएको हो।
‘स्टिम शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको अवसर सिर्जना गर्न आईडूडल ईडीयू नामक अमेरिकी संस्थासँग सहकार्य गर्दै नेपालमा विद्यालय तहका विद्यार्थीहरूका लागि ‘क्युब्स इन स्पेस नासो २०२१’ कार्यक्रम आयोजना गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ।
पाँच हप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहका विद्यार्थीले सहभागिता जनाउन सक्ने छन्।
आयोजकका अनुसार देशभरिका सबै विद्यार्थीहरूको पहुँच पुर्याउन चार हप्ता घरबाटै सहभागी गराउने र पाचौं हप्तामा विद्यार्थीले काठमाडौं पुग्नुपर्ने छ।
क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरिङ डिजाइन प्रतिस्पर्धा हो, जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरू नासा साउन्डिङ रकेट तथा जिरो प्रेसर साइन्टिफिक बेलुनमार्फत् अन्तरिक्ष वा अन्तरिक्ष नजिक वातावरणमा पठाउन सक्नेछन्।
यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्यांकनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को अफिस पठाउनुपर्ने हुन्छ।
क्युब्स इन स्पेसमा सहभागिताका लागि तयारीस्वरूप नेपालमा सञ्चालन गरिने यस कार्यशालामा यो वर्ष ५० विद्यार्थी भर्ना गरिने आयोजक नासोले बताएको छ।
जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरूलाई प्रयोगहरू डिजाइन गर्न लगाइने छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यक्रमबाट दुईवटा क्युब्स अमेरिका पठाइने छ।’