सोमबार, भदौ १५, २०८३

व्यवस्था बचे सत्ता पटकपटक आउँछ : रामचन्द्र पौडेल

कांग्रेसले संकटका बेलामा नेतृत्व दिनसक्नुपर्छ। गिरिजाबाबुले संकटका बेलामा मुलुकलाई नेतृत्व दिनुभयो। हरेक संकटको घडीमा कांग्रेसले नेतृत्व दिएको छ। अहिले पनि कांग्रेसले नेतृत्व गर्न अगाडि सर्नुपर्छ। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

आफ्नाे मौलिकता नबुझेपछि दु:ख हुन्छ। अहिले कतै कांग्रेसले आफ्नो मौलिकता बिर्सेर दुःख पाएको हो। कांग्रेसले श्रमको सम्मान गर्न क्रान्तिको सुरु गरेको थियो। विराटनगरको मजदुर आन्दोलन होस्, पहाडमा ब्राह्ममणले हलो जोत्ने अभियान होस्, यी दुवै श्रमको सम्मान गर्ने आन्दोलन हुन्।

यो सन्देश र मौलिकतालाई कांग्रेसले भुलेर दुःख पाएको हो। आफ्नो पहिचान बिर्सेर हामी भड्किरहेका छौं। २०१५ सालमा आफ्ना मौलिकता अगाडि सारेर दुई तिहाइ मत ल्याएको थियो। तर जति पछि भयो त्यति आफ्ना एजेन्डालाई कांग्रेसले भुल्न लागेकाले कमजोर भएको हो। कांग्रेसले अब एकपटक आत्मसमीक्षा गर्न जरुरी छ। 

कांग्रेस समान्तवाद र शोषणका विरुद्धमा जन्मिएको हो। ठालुतन्त्रका विरुद्धमा कांग्रेस जन्मेको हो। निमुखा र अन्यायमा परेका जनताको आवाज उठाउन भनेर कांग्रेसको जन्म भएको थियो। यो मौलिकता धानेर राख्न सकेको भए हामीसँग कोही पनि प्रतिस्पर्धामा आउन सक्दैनथे। अहिले कम्युनिस्ट बढेका हैनन् कांग्रेस घटेको हो। हामीले हाम्रा एजेन्डा छोड्दै जाने कम्युनिस्टले समात्दै जाने भयो। अनि हामी घट्दै गयाैं। 

मजदुरको पार्टी श्रमिकको साथी भन्ने नारालाई व्यवहारमा उतार्न सकेको भए कांग्रेस घट्दैनथ्यो। यो नारालाई हामीले नीति तथा कार्यक्रममा समेट्न सकेको भए अहिले यो अवस्था आउँदैनथ्यो। यसको मतलब हामीले समाजवादलाई वास्तविक रुपमा उतार्ने प्रयास गरेनौं। नीति निर्माणका बेलामा ध्याने दिने हो भने कांग्रेसलाई दुःख पर्दैन। 

हामी व्यवस्थाका लागि ७० वर्ष लड्यौं। अहिले हामीसँग त्यो व्यवस्था जोगाउने दायित्व र जिम्मेवारी छ। गिरिजाबाबुले प्रतिनिधिसभा पुनःस्थापना भन्दा अरु विकल्प देख्नुभएको थिएन। जनताको हातमा सत्ता आउन जनताको सत्ता आउनुपर्छ भन्नेमा गिरिजाबाबु हुनुभयो। संसद् पुनःस्थापना भएपछि सार्थक बनाउने काममा कांग्रेसले अग्रसरता लियो। त्यही प्रतिनिधिसभाबाट राजा हटायो। समावेशी लोकतन्त्र र संघीय गणतन्त्रको जग बसालेको हो। 

अहिले प्रतिनिधिसभा पुनः स्थापनाबारे मतान्तर भयो। केही पुनःस्थापनाका पक्षमा वकालत गरियो। केही साथीहरुले चुनाव नै महत्त्वपूर्ण हो भने। चुनाव भन्ने साथीहरुले अदालतका बारेमा बोल्नु हुँदैन भन्नुभयो। तपाईंहरुले दुईवटा कुरा आए भन्नुभयो। हो, दुईवटा कुरा आएपछि कांग्रेसका कार्यकर्ताले निर्णय गर्नुपर्यो। 

अदालतले पुनस् स्थापना गरिदिएपछि पनि चुनाव भन्ने सुनिन थालेको छ। अहिले संसदीय वव्यवस्था असफल बनाउने कोसिस भइरहेको छ। संसदीय व्यवस्था हाम्रो आदर्श हो। कम्युनिस्ट र दक्षिणपन्थीहरु संसदीय व्यवस्थाका विरुद्धमा छन्।

दक्षिणपन्थीहरु संसदीय व्यवस्थालाई विदेशीको व्यवस्था भन्छन्, कम्युनिस्टहरु संसदीय प्रणालीलाई बुर्जुवा व्यवस्था भन्छन्। संसदीय प्रणाली त कांग्रेसको आदर्श हो। अहिले यो संसद् र संसदीय प्रणालीलाई बचाएर जानुपर्छ। कम्युनिस्टहरु दुईतीनतिर भएका बेलामा यही संसद्बाट विकल्प दिनुपर्ने हो। संविधानलाई नै फाल्ने कोसिस गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन? लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन? 

हाम्रा साथीहरु चुनाव चुनाव भन्दै हुनुहुन्छ। संसद् विघटन गर्ने कुनै अधिकार नै छैन। फेरि किन मंसिरमा चुनाव भनिँदै छ। हामीले अहिले चुनाव हैन, यही संसदलाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो। अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद् फाल्न दिँदैन।

अनि फेरि किन मंसिरमा वा फागुनमा चुनाव भन्दै हिँडेका छौं हामी नै? यो व्यवस्था जनताको लामो संघर्षबाट आएको हो। यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैन भने कांग्रेसले प्रमाणित गर्नपर्छ। यही संसदीय प्रणाली र संविधानको बाटोबाट मुलुकलाई हिँडाउने कोसिसमा कांग्रेस लाग्नुपर्छ। 

संविधान नै फाल्ने कोसिस गर्ने संसद नै फाल्न फेरि पनि मैमत्त हुने केपी ओलीको विकल्प खोज्नका लागि कांग्रेस अगाडि आउनुपर्छ। कांग्रेस मौन बस्ने बेला होइन। अहिले हामी निर्णायक छैनौं भनेर बस्ने हो कि निर्णायक बन्ने कोसिस गर्ने हो?

संकटको बेलामा खरो उत्रने कोसिस गरे मात्रै जनताले भरोसा गर्नेछन्। कांग्रेसले यस्तो अलमल गर्न सुहाउँदैन। सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिउँ । व्यवस्था बच्यो भने सत्ता पटक पटक आउँछ। अहिले संसद् पुनःस्थापना भएपछि व्यवस्था बचेको छ। तर यो व्यवस्थालाई विकृत बनाएर बदनाम गराउन लागेका छन्। हामीले जोगाउनुपर्छ। 

संविधान बच्यो भने मजदुर, किसान, महिला, दलित, जनजाति सबैका अधिकार बच्छन्। संसद् जोगिएन भने यो व्यवस्था पनि रहँदैन। 

कांग्रेसले संकटका बेलामा नेतृत्व दिनसक्नुपर्छ। गिरिजाबाबुले संकटका बेलामा मुलुकलाई नेतृत्व दिनुभयो। हरेक संकटको घडीमा कांग्रेसले नेतृत्व दिएको छ। अहिले पनि कांग्रेसले नेतृत्व गर्न अगाडि सर्नुपर्छ। 

(गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
 

प्रकाशित: Mar 20, 2021| 15:36 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।