चितवन – राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि कारागार पठाएको छ।
भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो।
उनले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए।
एक करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ।
परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो।
परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रूपैयाँ हिनामिना गरेको आरोप छ। रासस