सोमबार, भदौ १५, २०८३

पोखराका कानुन व्यवसायी रकमसहित पक्राउ

जबर्जस्ती करणीको मुद्दा मिलाइदिने नाममा आरोपितको परिवारसँग रकम असुली गरेको भन्दै पोखरामा एक कानुन व्यवसायी पक्राउ परेका छन्। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

पोखरा – जबर्जस्ती करणीको मुद्दा मिलाइदिने नाममा आरोपितको परिवारसँग रकम असुली गरेको भन्दै पोखरामा एक कानुन व्यवसायी पक्राउ परेका छन्। 

जिल्ला अदालत कास्की नजिकबाट बिहीबार कास्की प्रहरीले अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेलाई पक्राउ गरेको हो।

घिमिरेले पोखरामै ओम ल फर्म सञ्चालन गर्दै आएका छन्। 

प्रहरीले उनको साथबाट १२ लाखको चेक र एक लाख १० हजार नगद बरामद् गरेको छ। 

घिमिरेलाई बिहीबार नै जिल्ला अदालत कास्कीबाट चार दिनका लागि म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस्तो छ घटना विवरण

पोखराकै १७ वर्षीया बालिकामाथि पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा ५७ वर्षीय पुरुष १९ दिनअघि पक्राउ परेका थिए। 

कहिले लेकसाइडका होटेल त कहिले पामेतिर लगेर बारम्बार करणी गरेको आरोपसहित बालिकाले दिएको उजुरीका आधार ती पुरुष पक्राउ परेका हुन्। 

पक्राउ परेका ती पुरुषकी पत्नीलाई भेटेर मुद्दा मिलाइदिने भन्दै दुईजनाले यसअघि नै केही रकम असुली गरेका थिए। 

प्रहरीले घटनाको अनुसन्धान गरेर फाइल तयार गरिरहेकै बेला मुद्दा मिलाइदिने भन्दै पीडितका आफन्तलाई फकाउन लागिपरेका दुईजनालाई पीडितकै उजुरीका आधारमा फागुन १९ गते पक्राउ गरिएको थियो। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ बस्ने ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका–१ घर भई पोखराको हेमजा बस्ने ३९ वर्षका कमन भनिने कमानबहादुर तामाङ हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार जबर्जस्ती करणी मुद्दाका पक्षलाई उनीहरूले ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, एक करोड रकम दिए मिलाई दिन्छु, नत्र १५ वर्ष जेल जान्छ’ भनी धम्क्याई झुटा आश्वासन दिएर केही रकमसमेत असुली गरेका थिए।

उनीहरू दुवैजनालाई फागुन १९ गते पक्राउ गरेर ठगीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । 

आखिर यी दुईजनाले यो आँट कहाँबाट पाए ? प्रहरी अनुसन्धानको सुई अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेतिर तेर्सियो। 

प्रहरीले घिमिरेका गतिविधिमाथि निगरानी गरिरहेको थियो। बिहीबार भने प्रहरीले चेक र नगदसहित उनलाई पक्राउ गरेको हो। 

कानुनी व्यवस्था 

यौन हिंसाका घटना बढ्दै गएपछि सरकारले २०७७ मंसिर ३ मा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७७’ जारी गर्‍यो। जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २२७ मा उपदफा ‘क’ थप गरिएको छ। 

त्यसमा ‘करणीसम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप गराउन वा त्यसका लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन’ उल्लेख छ

यही दफाका आधारमा अधिवक्ता घिमिरे पक्राउ परेका हुन्। यस्तो कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

प्रकाशित: Mar 19, 2021| 01:26 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।