राधाकृष्ण मैनाली आफूलाई स्वतन्त्र वामपन्थी भन्न रुचाउँछन्। एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा भेटिएका उनीसँग बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :
तपाईं पनि नेपाल–खनाल गुटमा हो?
म नेपाल–खनालको राष्ट्रिय भेलामा अतिथिका रूपमा मात्र आएको हुँ। म पार्टीमा प्रवेश गरेको होइन। ओलीले पनि छुट्टै भेला गरेका छन्। गुटका कारण एमाले विवादित छ। त्यसैले अहिल्यै कुनै गुटसँग सहकार्य भइहाल्ने अवस्था छैन। एकता भएमा अहिले गरेका निर्णय सबै खारेज हुन्छन्। ओलीले माधव नेपाल समूहलाई अन्याय गरेकै हुन्। भेलामा पार्टीका सल्लाहकारहरू आउनुभएको छ। म पनि नैतिक समर्थन दिन आएको हुँ।
एमाले अस्थिरतालाई कसरी हेर्नुभएको छ?
एमाले कुन रुपबाट अघि बढ्छ भन्ने टुंगो छैन। भेलाले नै नेकपा एमाले फुट्छ या फुट्यो भन्ने हुँदैन। एकीकरणका पक्षमा चर्को दबाब छ। ओलीले विधानविपरीत गरेको निर्णय फिर्ता नलिएसम्म पार्टी एक हुने अवस्था छैन। यसले कम्युनिस्ट आन्दोलनलाई तुहाउने काम गरेको छ।
प्रधानमन्त्री ओलीले चालेको कदमप्रति तपाईंको धारणा के छ?
प्रधानमन्त्री ओली कम्युनिस्ट आन्दाेलनलाई तुहाउने बाटोमा हिँडेका छन्। यस्तो प्रवृत्तिले पार्टी र देशलाई आघात पुर्याउँछ। पार्टीलाई विधानविपरीत हिँडाउन खोजिएको छ। छुद्र प्रवृत्तिले राज्यलाई भलो गर्दैन। ओलीको कदमप्रति मेरो आपत्ति छ। कम्युनिस्ट पार्टीभित्र यस्तो विचलनको अवस्था ल्याइराख्ने हो भने आन्दोलनले उचाइ प्राप्त गर्न सक्दैन। पार्टी अध्यक्ष र प्रधानमन्त्री गैरजिम्मेवार बन्नु गलत हो। त्यसैले आफ्नै पार्टीको नेताविरुद्ध लाग्नुपर्ने अवस्था आएको छ। संकट ओलीकै प्रवृत्तिले निम्त्याएको छ। यसलाई सच्याइएन भने पार्टी एक हुने अवस्था आउँदैन।
गुटगत भेलाले त पार्टी विभाजित भएको स्थिति देखिन्छ नि?
ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता लिने हो भने उहाँहरु मिलेर जानुहुन्छ। पार्टीभित्र अस्तित्व नरहेपछि छुट्टै भेला गर्नुपर्ने अवस्था आएको हो। एउटै प्रक्रियाबाट निर्वाचित भएका सबैको पद खारेज हुने अनि ओलीजी मात्रै बच्ने भन्ने त हुँदैन। एउटै अधिवेशनबाट चुनिएको कमिटीलाई भंग गर्नु विधिसम्मत भएन।
कम्युनिस्ट आन्दोलन किन यसरी विभाजनको स्थितिमा आइपुग्यो?
नेतृत्वको छुद्र मानसिकताका कारण यस्तो अवस्थामा आएको हो। बुजुर्वा नेता भए पनि निःस्वार्थी बन्ने हो भने यस्तो अवस्था आउँदैन। मलेसियामा नेतृत्व निःस्वार्थी भएका कारण कम्युनिस्ट आन्दोलनले मूर्त रूप पाएको हो। चीनमा माओको निःस्वार्थी चरित्रले कम्युनिस्ट पार्टीलाई माथिसम्म पुर्यायो। होचिमिह्न पनि स्वार्थी थिएनन्। कम्युनिस्ट आन्दोलन अघि बढाउन आफ्नो स्वार्थ त्याग गर्न सक्नुपर्छ। नेतृत्वले आफ्नो स्वार्थ त्याग गर्न नसक्नु दुर्भाग्य हो।
ओलीमा यस्तो प्रवृत्ति कसरी विकसित भयो?
पार्टीका केही गलत प्रवृत्तिका मानिसले आफ्नो स्वार्थपूर्तिमा ध्यान केन्द्रित गरे। उनीहरुकै बहुलठ्ठीपन र स्वार्थले यस्तो स्थिति सिर्जना भएको हो।
दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएमा गुटगत राजनीतिको अन्त्य हुन्छ होला?
पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका व्यक्ति अवकाश हुने हो भने यस्तो स्थिति आउने थिएन। दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरिहाल्ने अवस्था देखिँदैन। प्रधानमन्त्री र अध्यक्ष आफैं बन्नुपर्छ भन्ने तीव्र इच्छाले पार्टी अहिलेको अवस्थामा पुगेको हो। दुवै तर्फकाे नेतृत्व दोस्रो पुस्तालाई अघि बढाउन तयार छैन।