काठमाडौं – तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि ४५ जनाको आवेदन परेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त छ। तीनै प्रतिष्ठानले उपकुलपतिका लागि आवेदन माग गरेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जना र पाटन र पोखरामा १२–१२ जनाको को आवदेन परेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २४ गते तीनवटै प्रतिष्ठानमा रिक्त उपकुलपति दरबन्दी छनोटका लागि सात दिन म्याद राखेर दरखास्त आह्वान गरेको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति डा. मंगल रावल, डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सूर्यमान लिम्बू, प्रा.डा. तरुण पौडेल, डा. राजीव शाह, प्रा.डा. रामप्रसाद उप्रेती लगायत २१ ले आवेदन दिएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति प्रा.डा. राजेशनाथ डंगोल, रजिस्ट्रार प्रा.डा. पारसकुमार आचार्य, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. राजेन्द्र वाग्लेलगायत १२ ले आवेदन दिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा. धुव्र अधिकारी, डा. भरत खत्री, डा. डुपबहादुर क्षेत्री, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विजय अर्याल लगायत १२ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ।
उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठित समितिले कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्ने प्रावधान छ।
सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्ने उषा झा सदस्य सर्च कमिटी गठन गरिएको थियो।