काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ।
बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा जसपाको कार्यकारिणी बैठक बस्न लागेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी समायोजनका काम टुंगो लगाउने प्रमुख एजेन्डा छ।
त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुनेछ। तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको हो। पार्टी एकीकरणपछि समायोजनको काम अझै भएको छैन। आजको बैठकमा सत्ता सहकार्यको सम्बन्धमा पनि नेताहरूबीच छलफल हुने बताइएको छ।
जसपा निर्णायक भूमिकामा रहे पनि अहिलेसम्म सहकार्यका विषयमा निर्णयमा पुगिसकेको छैन। नेताहरूबीच कसलाई समर्थन गर्ने र आफूले अघि सारेका मागहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने विषयमा टुंगो लागिसकेको छैन।
जसपाले संविधान संशोधन, जेलमा रहेका आफ्ना सांसद रेशम चौधरी लगायतका नेताकार्यकर्ताको रिहाइ, अन्य नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेज हुनुपर्ने मुख्य शर्त राखेको छ।