जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट बेपत्ता भएका दम्पतीको ३ सातासम्म पनि कुनै अत्तोपत्तो छैन।
पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित घरमा सुतिरहेको अवस्थामा फागगुन १० गते राति मुसाफिर झा र गीता देवी झालाई ओछ्यानबाटै बेपत्ता पारिएको थियो।
झा दम्पती बेपत्ता भएको २३ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता गंगा पन्तले झा दम्पतीको बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धन थालीसकेको जानकारी दिए।
उनले भने ‘हुन त जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सघाइरहेका थियौँ, अब हामी टोली खटाएरै अनुसन्धान थाल्ने छौँ।’
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भए पनि ठोस परिणाम आउन नसकेपछि सिआइबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो। पन्तले भने ‘यो घटनामाथि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, स्थानीयको माग अनुसार नै हामीले टोली खटाउन लागेका हौँ।’
यता झा दम्पतीको अवस्था विषयमा अविलम्ब जानकारी गराउन माग गर्दै मैथिल ब्राह्मण युवा महासभासहित ४४ वटा संघसंस्थाले घटनाको सिआइबीले अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको थियो।
गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको अवस्था अझै अज्ञात रहेको छ।