काठमाडौं– काठमाडौं बल्खुकी ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनका पति सन्तोष सापकोटाबाटै भएको खुलेको छ।
सन्तोषीको शव सोमबार बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा बरामद भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
महानगरीय प्रहरी परिसरका काठमाडौंका एसएसपी अशोक सिंहले सन्तोषले पत्नीको हत्या स्वीकार गरेको जानकारी बुधबार पत्रकार सम्मेलनमा दिएका हुन्।
सन्तोषले काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सुकुमबासी बस्ती नजिकै घरमै सन्तोषीको हत्या गरेका थिए।
एसएसपी सिंहले भने, ‘सन्तोषीको हत्या उनकै पतिले गरेको स्वीकार गरेका छन्।’
ह्याम्बरले टाउकोमा प्रहार गरी सन्तोषीको हत्या गरेको प्रहरीले जनाएको छ। सन्तोष लागूऔषधका दुर्व्यसनी हुन्।
सिंहले भने, ‘लागूऔषध दुर्व्यसनी रहेका कारण पतिपत्नीबीच लामो समयदेखि विवाद थियो। घरव्यवहार मिलेको थिएन भने पतिले सम्बन्धविच्छेद चाहेका थिए।’
उनका पति दुव्र्यसनी मुद्दामा कैद सजाय भोगेका व्यक्ति हुन्। प्रहरीका अनुसार घरायसी झगडाकै कारण पत्नीको हत्या गरेको बयान पीडकले दिएका छन्।
घटनापछि पतिले सन्तोषीको गरगहना, मोबाइल कागजपत्र पनि नियन्त्रणमा लिएका छन्। सन्तोषलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा सन्तोषलाई सार्वजनिक गरिएको थियो।