काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद् ‘फेस’ गर्ने बताएका छन्। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने र आफ्नो पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘एमालेको एउटा पक्षले समर्थन फिर्ता लिएको हो। अर्को पक्षको समर्थन छँदैछ। विश्वासको मत लिनुपर्ने भए लिउँला,’ उनले नेपाल समयसँग भने। शाही नेकपा माओवादी (केन्द्र)बाट मुख्यमन्त्री भएका हुन्।
कर्णालीमा एमालेको संस्थापन पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। संसदीय दलको बैठकले सरकारमा सामेल मन्त्रीहरूलाई पाँच दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा छन्।
दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना सहभागी थिए। माधव नेपाल–झलनाथ खनाल समूहका सांसदहरु बैठकमा सहभागी भएनन्।