काठमाडौं– नेपालसमयडटकमको प्रधान सम्पादकमा नारायण अमृत नियुक्त भएका छन्।
नेपाल समय मिडिया प्रालिको सञ्चालक समितिले उनलाई बुधबारदेखि लागू हुनेगरी प्रधान सम्पादक नियुक्त गरेको हो।
नयाँ बानेश्वरस्थित कार्यालयमा नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथ शाह, प्रबन्ध निर्देशक तरुणप्रताप शाह, सम्पादकीय निर्देशक मुमाराम खनाल, सहसम्पादक माधवप्रसाद नेपाल, समाचार संयोजक लक्ष्मीप्रसाद खतिवडालगायत नेपाल समयकर्मीले स्वागत गरेका थिए।
नारायण अमृतसँग यसअघि देशान्तर साप्ताहिक, राजधानी दैनिक, नयाँ पत्रिका, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागजिन, अन्नपूर्ण पोस्टलगायतमा काम गरेको अनुभव छ। उनले नेपालखबरडटकम र नेपाललाइभडटकममा सम्पादकीय नेतृत्व गरिसकेका छन्।
स्वागत ग्रहणपछि प्रधान सम्पादक अमृतले व्यावसायिक पत्रकारितामा कुनै सम्झौता नगरिने बताए। श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धि, हकहित र व्यावसायिक पत्रकारितामा कटिबद्ध भएर लाग्ने उनले प्रतिबद्धता जनाए।
अध्यक्ष विश्वनाथ शाहले प्रधान सम्पादक नारायण अमृतको नेतृत्वमा नेपालसमयले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा नेपाल समय डटकमका सम्पादक सञ्जीव शर्मालाई बिदाइ गरिएको थियो। शर्माले नेपाल समयका लागि पुर्याएको योगदानको अध्यक्ष शाहले प्रशंसा गरे।
शर्माले ०७६ साउनदेखि ०७७ फागुनसम्म नेपाल समयको सम्पादकीय नेतृत्व गरेका थिए।