सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन् दुर्घटनाका घाइते

विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन् दुर्घटनाका घाइते

उपचारबापतकाे पैसा तिर्न नसक्दा सुनसरी इनरुवाका एक किशोर विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन्। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

विराटनगर – उपचारबापतकाे पैसा तिर्न नसक्दा सुनसरी इनरुवाका एक किशोर विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन्। 

इनरुवा नगरपालिका-७, चाँदबेलाका १९ वर्षीय रविन सरदार विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बन्धक बनाइएका हुन्। 

इटहरी-१६, बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराएबापतको पैसा तिर्न आनाकानी गरिरहेको छ। 

माघ २१ मा विद्यालयको ना ८ ख ८४१८ नम्बरको बसले रविनले चलाएको को २४ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

इटहरी-८, फूलबारी टोलमा भएको दुर्घटनामा उनको टाउकोमा गहिरो चोट लागेको थियो। साथै मुखको हड्डी टुटेको थियो भने दाँतहरू पनि भाँचिएका थिए। 

अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकोको शल्यक्रिया गरेको थियो। पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छैन। 

उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार गर्दा लागेको पैसा तिर्न नमानेपछि एक महिनासम्म रविनलाई परिवारका सदस्यले घर लैजान सकेका छैनन्। 

अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावती सरदारले बताइन्। अस्पतालले पैसा तिरेर घर लैजानु भने पनि छोरालाई अस्पतालमै रुँगेर बस्नु परिरहेको उनको भनाइ छ।  

दुर्घटनालगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, कुनै कारबाही नगरिकन छाडिसकेको पाइएको छ। 

इलाका प्रहरी कार्यालय इटहरीमा छलफल भएपछि सहमतिको कागज तयार पारिएको उकावतीको भनाइ छ। 

उनका अनुसार उपचार ठीक भएपछि बिल हेरेर सबै पैसा स्कुलले भुक्तानी गरिदिने र मोटरसाइकल पनि बनाइदिने सर्त थियो। रविनको परिवार सुकुम्बासी जीवन बिताइरहेको छ। 

कसैको नाममा जग्गा जमिन छैन। रविन राजमिस्त्री हुन्। जीविका चलाउन परिवारका अरू ज्याला मजदुरी गर्छन्। 

छोराको प्रारम्भिक उपचारका लागि एक लाख ५० हजार ऋण गरेर र घरमा भएका हलगोरु बेचेर जुटाएको पीडित परिवारको भनाइ छ।

अस्पतालका लेखा प्रमुख सुवास पोखरेलले रविनको उपचारमा ६ लाख ७० हजार रूपैयाँ खर्च भएको जानकारी दिए। 

दुई लाख ७५ हजार तिरिसकेको र तीन लाख ९५ हजार रूपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ। 

त्योमध्ये एक लाख २० हजार रूपैयाँ भने स्कुलले उपलब्ध गराएको हो। अरू रकम रविनकै परिवारले जुटाएका हुन्। 

परिवारले औषधिको पनि दुई लाख रूपैयाँभन्दा बढी तिर्न बाँकी रहेको जनाएको छ। 

प्रकाशित: Mar 17, 2021| 01:36 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।