काठमाडौं– चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले झापास्थित विएण्डसि अस्पतालको सम्बन्धनको प्रक्रिया रोक्न माग गरेका छन्।
डा. केसीले पत्रकार सम्मेलन गर्दैै कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गरेका हुन्।
उनले भनेका छन्, ‘मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन भोलि चैत ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधान्मन्त्री आफैंले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको भन्ने सूचना प्राप्त भएको छ।’ ऐनविपरीत जबर्जस्ती सम्बन्धनको प्रक्रिया अगाडि नबढाउन उनले भनेका छन्।
यदि सम्बन्धनको प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह सुरु गर्ने उनले घोषणा गरेका छन्।
डा. केसीले हालसम्म चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १९ पटकसम्म आमरण अनसन बसिसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक भएको डा. केसीको आरोप छ।
यता प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले भने चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ उपदफा ६ अनुसार तत्काल सम्बन्धन पाउनुपर्ने माग गरेका छन्।
प्रसाईंले आजै पत्रकार सम्मेलन गरी सो उपदफामा उपत्यका बाहिर सञ्चालन हुन चाहने मेडिकल कलेजलाई आयोगले सहमति दिन कुनै बाधा नपर्ने भन्दै विएण्डसीले तत्काल सम्बन्धन पाउनुपर्ने जिकिर गरेका छन्। प्रसाईंले भनेका छन्, ‘नियम कानुनअनुसार सबै प्रक्रिया पूरा भएको छ,’ ‘संरचना पनि मापदण्ड अनुसार सबै छ। त्यसैले सम्बन्धन पाउनुपर्छ।’
प्रसाईंले ऐनअनुसार उपत्यका बाहिर खोलिएका र मापदण्ड पुगेका शिक्षण संस्थाको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नरोकेको बताए।