सुर्खेत– सल्यानको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्याका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका १६ वर्षे कृष्ण थापा छन्।
उनी घटना भएको एक वर्षपछि पक्राउ परेका हुन्। थापाले कविताको गत वर्ष फागुन दुई गते राति हत्या गरेको स्वीकारेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि थापाले कविताको हत्या गरेका हुन्। कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको बताएको सल्यानका डीएसपी गोविन्द थापाले जनाए।
कविता र कृष्ण गाउँकै जनता माध्यमिक विद्यालयमा अध्ययन गर्थे। कविता कक्षा ९ र कृष्ण कक्षा १० मा अध्ययनरत थिए। कविताको हत्या भएको दिन अर्थात् फागुन २ गते प्रेम दिवस परेको थियो।
सोही अवसर छोपी कृष्णले कवितालाई अन्तिमपटक प्रेम प्रस्ताव राखेका थिए। प्रस्ताव स्वीकार नगरेपछि पश्चाताप महसुस भएर कविताको हत्या गरेको कृष्णले बताएको छ। सोही दिन कृष्णले कविताकै घरमा पुगेर खुकुरी प्रहार गरेर हत्या गरेको बयान उसले प्रहरीमा दिएको छ।
मोबाइल कल डिटेलका आधारमा प्रहरीले कृष्णलाई पक्रन सफल भएको हो। उसलाई आज मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ। १८ वर्षमुनिको भएकोले उसलाई जिल्ला अदालत सल्यानको अनुमतिमा बाल सुधार केन्द्र नेपालगन्ज पठाइएको छ।