नेपाली खेलकुदको इतिहासमा पहिलोपटक अक्सनमार्फत खेलाडी बोलकबोल गरेर सहभागी गराइएको फ्रेन्चाइज क्रिकेट धनगढी प्रिमियर लिग (डीपीएल)का आयोजक हुन् सुवास शाही। सुदूरपश्चिम एकेडेमी र धनगढी क्रिकेट एकेडेमीका सञ्चालक शाही पछिल्लो दश वर्षदेखि क्रिकेटमा छन्।
उनी आगामी वैशाख ११ गतेबाट दशरथ रंथशालामा सुरु हुने पहिलो फुटबल फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)मा सहभागी धनगढी फुटबल क्लबका मालिक हुन्। क्रिकेटदेखि फुटबलसम्म लाग्दाको अनुभवबारे नेपाल समयका विनय ज्योति सापकोटाले शाहीसँग कुराकानी गरेका छन्।
क्रिकेटबाट फुटबलमा आउनुभयो। अर्को खेलमा लाग्ने सोच पहिले आयो कि प्रस्ताव पहिले ?
पहिले त प्रस्ताव नै आएको हो। त्यसमा हामीले दुईपटक नसोची हुन्छ भन्यौँ। किनभने फ्रेन्चाइज लिगको महत्व, प्रभाव के हुनसक्छ भन्ने थाहा छ। लामो समय भइसक्यो फ्रेन्चाइजमा काम गरेको। त्यसैले यसको महत्व थाहा छ। क्रिकेटमा सफल भइसकेकोले फुटबलमा पनि सफल हुन्छ भन्ने लागेर हामीले क्लब लिएका हौँ।
फुटबल लिगका साथै तेक्वान्दोको प्रादेशिक समितिमा पनि पुग्नुभएछ। अब क्रिकेट छोड्नुभएको हो ?
होइन, त्यस्तो होइन। क्रिकेटसँगै फुटबललाई पनि लैजाऊँ भनेर हो। बाहिरबाट हेर्दा एकै मान्छेले धेरैतिर हात हालेको जस्तो देखिन्छ तर हामी टिमवर्क गर्छौँ। त्यसैले सजिलो भएको छ। क्रिकेट छोडेको भने होइन।
मैले क्रिकेटलाई लिएर स्कुल, कलेजलगायतमा अभियान पनि सञ्चालन गरिरहेको छु। काम गर्ने भनेको टिमले हो। टिमलाई चाहिँ साथमै राख्नुपर्छ। टिमका सबैलाई अपनत्व दिनुपर्छ। मैले गरेको त्यही कुराले सबैतिर सहयोग पुगिरहेको छ।
नेपाल सुपर लिगको आयोजकले भोलिको दिनमा क्रिकेट र भलिबलमा काम गर्ने योजना बनाएको रहेछ। त्यसले पनि मेरो पहिलेको प्रोजेक्टमा सहयोग हुन्छ।
पछिल्लो दुई पटक डीपीएल स्थगित भइसकेको छ। अन्य खेल गतिविधिका कारण डीपीएल छायामा पर्दै गएको देखिन्छ। तर तपाईं भने क्रिकेटलाई साथमा लाने कुरा गर्नुहुन्छ। यो कुरालाई समर्थकले विश्वास गर्ने ठाउँ छ ?
त्यो त परिस्थितिवश स्थगित भएको हो। त्यति धेरै लगानी गरेर एउटा उचाइसम्म पुर्याएको डीपीएल पुनः नयाँ धारबाट अघि बढाउने योजना छ। अहिले क्रिकेट संघ पनि फुकुवा भइसकेपछि उसले फ्रेन्चाइजलाई कसरी हेरेको छ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ।
यो एकजनाले मात्र चाहेर हुने होइन। सबै कुरा मिलेपछि क्रिकेट पनि गर्छौं। डीपीएल अझ परिस्कृत तरिकाले गर्न उत्साहित छौं। तर नेपाल प्रिमियर लिग आएपछि देशमा चारवटा फ्रेन्चाइज हुन्छन्। त्यो अवस्थामा चाहिँ क्रिकेट संघले निर्णायक काम गर्ला ! क्यानले एउटा छान्ला वा सबैलाई समायोजन गरेर लैजाला।
प्रतियोगिता स्थगित भएपछि डीएपीएलका क्लबको प्रतिक्रिया कस्तो छ ?
उहाँहरु चाँडै प्रतियोगिता होस् भन्ने चाहनुहुन्छ। क्लबले पनि अहिलेसम्म लगानी नै गरिरहेको छ। हामीले पनि लगानी नै गरिरहेको अवस्था छ। प्रतिफल पाउन बाँकी छ। ठ्याक्क रोकिँदा उहाँहरुलाई पनि एक किसिमको घाटा लागेको होला। उहाँहरु पनि छिटै प्रतियोगिता भइदिए हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ।
काठमाडौंमा आयोजना हुने फुटबलमा धनगढी नाम लिएर सहभागी बन्नुको मुख्य उद्देश्य के हो ?
धनगढीलाई प्रवर्द्धन गर्ने पनि एउटा उद्देश्य हो। सहरको ब्रान्डिङ हुन्छ। अर्को आर्थिक पाटो पनि जोडिएको हुन्छ। यसबाट आउने अन्य प्रतिफल पनि राम्रो हुन्छ। मैले पहिल्यैबाट भन्दै आएको छु– खेललाई उद्योगको रुपमा विकास गर्न सकिन्छ। यसले खेलाडी, क्लब र समग्र फुटबललाई व्यावसायिक बनाउँदै लान्छ। अर्को कुरा काठमाडौं देशभरको साझा क्षेत्र हो। सुदूरपश्चिमका धेरै मानिसहरु काठमाडौंमा हुनुहुन्छ। कम्तिमा उहाँहरुले अपनत्व महसुस गर्नुहुन्छ नि ! अर्कोतिर यो कामले फुटबलको विकास हुन्छ।
लामो समयदेखि काम गरिरहेका फुटबल क्लब त व्यावसायिक बनिसकेका छैनन्। बल्ल सुरु हुन आँटेको छोटो लिगबाट व्यावसायिक बन्न सकिएला ?
व्यवस्थापन गर्न सक्यो भने मात्र राम्रो हुन्छ। तर सहरमा आधारित फ्रेन्चाइज भएको कारणले त्यसमा विभिन्न सहरहरुले अपनत्व महसुुस गर्छन्। आफ्नो ठाउँसँगको अट्याचमेन्टका कारण त्यसको फाइदा फ्रेन्चाइजले लिने ठाउँ छ। एक दुई वर्षमा नै नहोला, तर दीर्घकालमा हुन्छ। एउटा प्रतियोतिामा धनगढीको समर्थकले यो क्लबको जर्सी लगाएर आए भने पनि त्यसले क्लबलाई राम्रो रेभेन्यू दिन्छ।
दश वर्ष भयो तपाईंले धनगढीमा क्रिकेट प्रतियोगिता सुरु गर्नुभएको। दश वर्षसम्म पनि क्रिकेटमा लगानी धेरै भयो होला, फाइदा कम। फुटबलमा आउँदा यसको प्रतिफल आउला जस्तो लाग्छ ?
चार लाख लागतमा एसपीए कपबाट क्रिकेट सुरु गरेका हौं। सानो प्रतियोगिता थियो। खेलमा धेरै प्रयोग गर्दा हामी सफल हुँदै गयौँ। व्यावसायिक रुपमा धेरै उचाइमा गएनौँ। तर प्रतियोगिताबाट प्रत्यक्ष आउने पैसालाई मात्र हामीले प्रतिफल मानेका छैनौ। ख्यातिलाई पनि मानेका छौं। त्यो टुर्नामेन्टबाट सुरु गरेको प्रयासले आज अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्म बन्ने माहोल त बन्यो नि !
रंगशाला बनिसकेपछि, त्यहाँ अन्तर्राष्ट्रिय खेल हुँदा हाम्रो बजारलाई खेलले अन्तर्राष्ट्रिय बजारमा ड्राइभ गर्ने भयो। विभिन्न गतिविधिले चिनिँदै जाँदा त्यसको दीर्घकालिन प्रभाव हेर्नुपर्ने हुन्छ।
हामीले प्रतियोगिताबाट पैसा बचाउन पनि सक्ने थियौँ। तर हरेक प्रतियोगितामा स्पोन्सर बढ्दै गएको छ। त्यसैले हामीले बचत गरेनौ। बरु लगानी नै बढायौं। सानो अवसरबाट सुरु गरेर फुटबलमा पनि लामो समयको प्रभावबारे हामीले साचेका छौं।
एउटा फ्रेन्चाइज क्लब सम्हाल्नका लागि धनगढीमा पर्याप्त मानिसहरु थिए होलान्। तपाईंसँग फुटबल अनुभव पनि थिएन। सुरुमा प्रस्ताव आउँदा आफूलाई नआएर फुटबल सञ्चालन गरिरहेको अरु कसैलाई गएको भए राम्रो हुन्थ्यो जस्तो लागेन ?
कुन खेल भन्दा पनि मैले फ्रेन्चाइजको महत्वलाई धेरै प्राथमिकतामा राखेँ। टिमसँग पनि त्यही सल्लाह भयो। यसको फाइदाबारे अनुभव भएको हुनाले, स्पोन्सरसँग राम्रो सम्बन्ध भएको हुनाले गाह्रो नहुनेजस्तो लाग्यो। त्यसैले खेल सम्हाल्न आइपुग्यौँ।
पहिले एउटा लिग नै चलाएर बस्नुभएको थियो। अहिले त एउटा टिममा खुम्चिनुभयो नि !
हामीले फ्रेन्चाइज टिम हेन्डल गर्यौं। त्यो अर्कै किसिमको रमाइलो हुन्थ्यो। रिस्क पनि धेरै थियो। अलग अलग टिम मालिकको फरक–फरक भावना साट्दा धेरै कुराको अनुभव भएको छ। त्यो प्रतियोगिताबाट हामी आफैंले टिम चलाउँदा कसो गर्दा राम्रो हुन्छ भन्ने सिकेका छौं। त्यो यसमा काम लाग्छ।
लिग र क्लबका लागि स्पोन्सर खोजिरहँदा व्यवसायिको उत्साहचाहिँ फुटबलमा धेरै पाउनु भयो कि क्रिकेटमा ?
अहिले नेपालमा स्पोन्सरहरुको राम्रो माहोल देखेँ। दुवै खेलमै स्पोन्सरको माहोल छ। कुनै एउटा खेल नभएर समग्र खेल क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने संस्कृति विकास भइसकेको छ।
क्रिकेट र फुटबल संघमा कुन संघसँग काम गर्न सजिलो ?
फ्रेन्चाइजका हिसाबले हामीले लिगसँग काम गरिरहेका छौं। एन्फासँग धेरै कुरामा समन्वय हुन बाँकी छ। तर जे छ एन्फाले राम्रो गरिरहेको जस्तो लाग्छ। पोजेटिभ पाएँ। दुई संघबीच तुलना चाहिँ गरेको छैन।
पहिलो लिग हुँदैछ। खर्च कति गर्ने सोच छ ?
सानो खर्चले त पुग्दैन नै। कसैले करोडौं पनि गर्छन् होला। तर यसमा आ–आफ्नो रणनीति हुन्छ। मार्की खेलाडी कतिमा किन्ने, विदेशी खेलाडीको मूल्य कति, अक्सनमा कति खर्च गर्ने, मार्केटिङमा कति लगानी गर्ने आदि सबै मिलाएर हुन्छ। त्यो अहिले नै भन्न मुस्किल छ। तर करोडभन्दा उकालोचाहिँ लाग्छ।
प्रतियोगिताबाट कस्तो नतिजा आउला ?
हामी जित्नका लागि खेल्ने हो। सबै टिमले त्यसरी नै खेल्ने हो। टिम बनिसकेको छैन। प्रशिक्षकहरु सार्वजनिक भइसकेको छैन। त्यो भएपछि थप स्पष्ट होला।
फुटबलको साथ कहिलेसम्म रहन्छ ?
जीवनभर रहन्छ भनेर नै सुरु गरेको हो। रहन्छ।
तस्बिर सौजन्य : ह्यारिस जंग शाही