काठमाडौं– एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजारभन्द बढी अगुवा कार्यकर्ता सहभागी हुने दाबी गरेको छ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय र विभागका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू सहभागी हुने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
यस्तै भेलामा केन्द्रीय कमिटीका पूर्व सदस्यहरु, संघ र प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु सम्पर्क कमिटी र मञ्चका पदाधिकारी सहभागी हुनेछन्।
गाउँ–नगर कमिटीका अध्यक्ष र सचिवहरू, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखलाई पनि भेलामा डाकिएको छ।
विज्ञप्तिमा उल्लेख छ, ‘जनसंगठन तथा पेसागत संगठनका केद्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदााधिकारी गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने व्यवस्था गरिएको छ।’
भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गरिने विज्ञप्तिमा जनाइएको छ।
सो समूहले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसका लागि भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणापत्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिनेछ।’
सो समूहले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत अञ्चालनका लागि योगदान गर्न सबैसँग अपिल गरेको छ। भेलाको सबै तयारी पूरा भएको जानकारी भट्टराई दिएका छन्।