काठमाडौं– बजारमा साउनदेखि यता पौने चार करोड रुपैयाँका म्याद नाघेका वस्तु नष्ट गरिएको छ।
बजारमा अनुगनका क्रममा भेटिएका तीन करोड ७३ लाख रुपैयाँ बढीको म्याद नाघेको वस्तु नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
‘उपभोग्य मिति समाप्त भएका तीन करोड ७३ लाख १५ हजार ३९२ मूल्य बराबरका वस्तु नष्ट गरिएको छ’, विभागका प्रवक्ता शिवराज सेढाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले भने बजार अनुगमन नियमित भइरहेको र दोषीलाई कारबाहीसमेत गरिरहेको दाबी गरेको छ। विभागका प्रवक्ता सेढाईंका अनुसार फागुन मसान्तसम्म दुई हजार ४३९ व्यावसायिक फर्ममा अनुगमन गरिएको छ।
अनुचित व्यापारिक क्रियाकलाप गर्ने २९ वटा फर्मको व्यावसायिक फर्मको कारोबार रोक्का राख्न सिलबन्दी गरिएको विभागले जनाएको छ। १९ व्यवसायीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विभागका अधिकारी बताउँछन्।
विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म एक हजार २२५ व्यावसायिक फर्मलाई सुधारका लागि निर्देशन दिइएको छ।
विभिन्न १६ वटा वस्तुको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरिएको र चार वटा मुद्दा विभागको महानिर्देशकबाट फैसला भएको छ।
चालू आवमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीबाट एक करोड ९२ लाख ३९ हजार रुपैयाँ जरिवानाबापत संकलन गरिएको छ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारमा ठूला व्यवसायीले नै म्याद नाघेका वस्तु पठाउने गरेको बताए।
‘उपभोक्ताले पैसा पनि खर्च गर्ने उपभोग्य वस्तु पनि नपाउने अवस्था छ’ उनले भने, ‘पैसा खर्च गरेर कम्तीमा सही वस्तु त उपभोग गर्न पाउनुपर्यो।’
उनले विगतमा पनि म्याद नाघका वस्तु पाउने गरेकोमा नियमनकारी निकायबाट उचित नियमन तथा अनुगमन नहुने गरेको बताए।
उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा अराजकता बढ्दा उपभोक्ता मारमा परेको बताए।
सरकारी संयन्त्र र व्यवसायीको मिलोमतो रहेकोले म्याद नाघेका वस्तु छ्यापछ्याप्ती पाइने गरेको महर्जनले दाबी गरे।
उनका अनुसार पछिल्लो समय कालो बजारीसँगै म्याद नाघेका सामान पनि बजारमा प्रशस्त छन्। ‘म्याद नाघेका सामान छन् भनेर विभागले नै स्वीकार गरिसकेको अवस्था छ’, महर्जनले भने।