काठमाडौं – कप्तान लियोनल मेस्सीको सानदार प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले ह्वेस्कालाई हराएको छ।
ला लिगाअन्तर्गत सोमबार राति क्याम्प नोयमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टिम ह्वेस्कामाथि ४–१ गोलको जित निकाल्यो।
जितका लागि मेस्सीले १३ औं मिनेटमा पहिलो गोल गरेका थिए। उनले बस्क्वेटले लिएको पास सदुपयोग गर्दै गोल गरे।
त्यस्तै खेलको ३५ औं मिनेटमा पेड्रीले दिएको पासलाई एन्टोनी ग्रिजम्यानले गोलमा बदलेपछि बार्सिलोना दुई गोलले अघि थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा ह्वोस्काका राफा मिरले पेनाल्टीमार्फत् गोल गर्दै खेलमा फर्कने प्रयास गरे।
२–१ को अवस्थाबाट सुरु भएको दोस्रो हाफको ५३ औं मिनेटमा मेस्सीले पास दिएपछि मिनगुएजाले गोल गरे भने अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए।
यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एथ्लेटिकोलाई दबाब बढाएको छ। एथ्लेटिको ६३ अंकका साथ शीर्षस्थानमा हुँदा दोस्रो स्थानको बार्सिलोनाको ५९ अंक छ।
५७ अंकका साथ रियल मड्रिड तेस्रो स्थानमा छ।