काठमाडौं- उपकुलपति पदका लागि रिक्त भएका तीन प्रतिष्ठानका लागि ४५ जनाको आवेदन परेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ४५ जनाको आवेदन परेपछि चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
१५ दिनअघि रिक्त भएका तीन प्रतिष्ठानका उपकुलपतिका लागि एक हप्ताअघि आवेदन माग गरिएको थियो। सरकारले गठन गरेको उपकुलपति सिफारिस समितिले आइतबारसम्म आवेदन दिन समय तोकेको थियो।
सो अवधिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सबैभन्दा धेरै २१ जनाको आवेदन परेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि १२ जनाकै आवेदन परेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा. डुपबहादुर क्षेत्री, डा. ध्रुव अधिकारी, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विजय अर्याल, डा. भरत खत्रीलगायत १२ जनाको आवेदन परेको छ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यबाहक उपकुलपति डा. मंगल रावल, निवर्तमान उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले, प्रा.डा. तरुण पौडेल, डा. राजीव साह, डिन डा. रेशम राना, प्रा. डा रामप्रसाद उप्रेती, प्रा.डा. गेहनाथ बराललगायतले २१ जनाले आवेदन दिएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि प्रा.डा. पारसकुमार आचार्य, कार्यवाहक उपकुलपति प्रा.डा.राजेशनाथ गंगोल, प्रा.डा. राजेन्द्र वाग्ले, रजिष्ट्रार प्रा.डा. गेहनाथ बराललगायत १२ जनाले आवेदन दिएका छन्।
आवेदन परेकामध्येबाट जम्मा ३ जनाको नाम उपकुलपतिका लािग सिफारिस हुनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा सरकारले गठन गरेको सिफारिस समितिले कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ।