विराटनगर- इन्धन ढुवानी गर्ने ट्यांकरकै प्रयोग गरेर विराटनगरबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ।
नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले इन्धनको तस्करीमा प्रयोग गरिएको को १ ख ५९१२ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। घटनाबारे चाल पाएपछि फरार बनेका ट्यांकर धनी चरणप्रीत सिंहको प्रहरीले खोजी गरिरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भारततिर तस्करी गरेर लैजान लागिएको २ हजार ६५० लिटर डिजेल पनि नियन्त्रणमा लिइएको छ। तस्करीको डिजेलसहित ट्यांकर र ट्यांकरका चालक भारत अररियास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम तथा सह-चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको खड्काले बताए।
भारतको बरौनीबाट इन्धन लिएर विराटनगर आउने ट्यांकरले फर्कँदा इन्धन लग्दै भारतमा पुर्याएर महँगोमा बिक्री गर्ने गरेको पनि खुलेको छ।
भारतको बरौनी डिपोबाट २० हजार लिटर (२० किलोलिटर) पेट्रोल लोड गरेर गत शुक्रबार विराटनगर आइपुगेको ट्यांकरलाई पेट्रोल अनलोडका लागि सुनसरीको इटहरी आसपासका चारवटा पेट्रोल पम्पमा पठाइएको थियो। पेट्रोल खन्याइसकेर खाली फर्किएको ट्यांकरलाई भारत पठाउनुअघि चाबी लगाउन खोज्दा तस्करीको डिजेल रहेको पुष्टि भएको निगम विराटनगरका प्रवक्ता दिवस विष्टले जानकारी दिए।
आयल निगमले ट्यांकरलाई डिजेल उपलब्ध गराउने पम्पमाथि पनि छानबिन थालेको छ। पम्पको नाम भने गोप्य राखिएको छ। नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको पाइएको निगमले जनाएको छ।
प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ५० पैसा र पेट्रोलको ११४ रुपैयाँ ५० पैसा तोकिएको छ। नेपालमा भन्दा भारतमा डिजेलप्रति लिटर ३५ रुपैयाँ ९३ पैसा र पेट्रोल ४२ रुपैयाँ महँगोे रहेका कारण तस्करी हुने गरेको जानकारहरु बताउँछन्।