काठमाडौं– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीबारे प्रश्न उठाएका छन्।
आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेपाल पक्षले फागुन २८ को केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे आपत्ति जनाएपछि महासचिव पोखरेलले अर्याल होटलमा भएको बैठकको कुरा उप्काएका हुन्।
संस्थापन पक्षले नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै केन्द्रीय कमिटीमा सदस्यहरु थपेपछि नेपाल पक्षको पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेर समानान्तर कमिटी बनाएको थियो।
फागुन २८ को निर्णय अवैधानिक भएकाले रद्द गर्नुपर्ने माग नेपाल पक्षको छ।
आजको छलफलमा गएको कात्तिक २८ गते तत्कालीन नेकपा सचिवालय बैठकमा प्रस्तुत भएको १९ पृष्ठको आरोपपत्रको विषय पनि उठेको पोखरेलले बताए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई जेठ २ गतेकै अवस्थामा पुऱ्याएको उल्लेख गर्दै पोखरेलले भने, ‘अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको छ। आजको बैठकमा यही विषयमा छलफल भयो। अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ।’
पुनर्जीवित एमालेलाई थप व्यवस्थित कसरी बनाउने र एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा नेताहरुबीच छलफल भएको पोखरेलको भनाइ थियो।