काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन्।
आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको माधव नेपाल पक्षका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
बैठकपछि एमाले उपाध्यक्ष तथा नेपाल समूहका नेता भीम रावलले पार्टी ३ वर्ष अगाडि फर्किएकाले त्यसैलाई प्रस्थानबिन्दु मान्नुपर्ने आफूहरुको अडान रहेको तर ओली त्यसमा सहमत नभएको बताए।
‘फागुन २३ गते सर्वोच्च अदालतको फैसला भएपछि भएका निर्णय हामी मान्दैनौं। २८ गते बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मान्दैनौं। त्यसमा हामी सहभागी पनि थिएनौं। बहुमत सदस्य पनि थिएनन् बैठकमा। यही कुरा हामीले आज राख्यौं। तर, यो कुरा मान्छु भनेर प्रधानमन्त्रीले भन्नुभएन। त्यसैले कुरा मिलेन। फेरि छलफल गर्ने भनेको छ तर कहिले गर्ने टुंगो छैन,’ रावलले भने।
बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो। जवाफमा अध्यक्ष ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेको तर २८ गतेको निर्णय फिर्ता गर्ने कुरा नगरेको रावलले बताए।