काठमाडौं– नेकपा (एमाले) केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीचको छलफल पार्टी कार्यालय धुम्बाराहीमा जारी छ।
बैठककै बीच बाहिर निस्किएका नेपाल पक्षका नेता रघुजी पन्तले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए। वार्तामा नेपाल पक्षले पुस २८ गतेको बालुवाटार बैठकबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ। यसबारे प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको नेता पन्तले बताए ।
भेटमा उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्बाङ, रघुजी पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए।
सर्वोच्च अदालतको फैसलापछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो। अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव–झलनाथ पक्ष पुनः एमालेतिर फर्किएका छन्।
एमालेभित्र ओली र माधव(झलनाथ पक्षबीच तीव्र विवाद छ। सो पक्षले समानान्तर कमिटीको अभ्यास पनि थालिसकेको छ।
नेकपा एमाले अध्यक्ष ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटीको अभ्यास थालेको हो। जसअनुसार सातै प्रदेश कमिटी, विभिन्न विभाग छुट्टै गठन गरिएको छ।