काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भेटवार्ता जारी छ।
अध्यक्ष ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपालबीच भेटवार्ता भइरहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।
भेटमा उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पाेखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्बाङ, रघुजी पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रदीप ज्ञवाली लगायत सहभागी छन्।
सर्वोच्च अदालतको फैसलापछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो।
अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव–झलनाथ पक्ष पुनः एमालेतिर फर्किएका छन्।
एमालेभित्र ओली र माधव-झलनाथ पक्षबीच तीव्र विवाद छ। सो पक्षले समानान्तर कमिटीको अभ्यास पनि थालिसकेको छ।
नेकपा एमाले अध्यक्ष ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटीको अभ्यास थालेको हो। जसअनुसार सातै प्रदेश कमिटी, विभिन्न विभाग छुट्टै गठन गरिएको छ।