काठमाडौं- नेपाली कांग्रेसले महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न तथा वर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृशिशु मृत्यदर कम गर्न माग गरेको छ।
कांग्रेस केन्द्रीय महिला विभागको गत फागुन २९ र यही चैत १ गतेसम्म सञ्चालित वाग्मती प्रदेशस्तरीय महिला भेलाले प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए तापनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको भन्दै यस्तो माग गरेको हो।
बढ्दो महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि सबै संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन र दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरवलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि समेत भेलाले माग गरेको छ।
बालिकालाई माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमपछि जारी घोषणापत्रमा उल्लेख छ।
पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा र सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्नेसमेत माग गरेको छ। रासस