काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकका लागि ६ बुँदे कार्यसूची पारित गरिएको छ।
जसअनुसार वर्तमान परिस्थिति, पार्टीको अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको स्थितिबारे पार्टीको केन्द्रका तर्फबाट रिपोर्टिङ, वर्तमान परिस्थिति र संगठनात्मक स्थितिबारे सबै प्रदेशबाट एकएक जनाको रिपोर्टिङ लगायत कार्यसूची छन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार कार्यसूचीअनुसार वर्तमान परिस्थिति, पार्टीको अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको स्थितिबारे अध्यक्ष पुष्पकमल दाहालले रिपोर्टिङ गरेका छन्।
त्यस्तै वर्तमान परिस्थिति र संगठनात्मक स्थितिबारे सबै प्रदेशबाट अध्यक्ष वा सचिवका तर्फबाट रिपोर्टिङ भएको छ भने काठमाडौं उपत्यका विशेष कमिटीबाट लिलामणि पोखरेलले रिपोर्टिङ गरेका छन्। यस्तै विदेश विभागबाट युवराज चौलागाई र जनसंगठनबाट प्रलाद बुढाथोकीले पनि रिपोर्टिङ गरेका थिए।
रिपोर्टिङका क्रममा बोल्ने नेताहरुले नेकपा माओवादीभित्र पनि ‘ओली प्रवृत्ति’ देखिन नहुने सुझाव दिएका छन्।
उनीहरुले आतिएर अहिल्यै पार्टीको नाम फेर्ने काम गर्ने दिशामा नलाग्न नेताहरुलाई सुझाव दिएका छन्।
बैठकमा वर्तमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे केन्द्रीय सदस्यहरुको तर्फबाट सुझाव राख्ने कुरालाई पनि कार्यसूची राखिएको छ। भोलिबाट केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राख्नेछन्।
यसैगरी संगठनात्मक काम, पार्टीको विधान परिमार्जन र विभिधलाई कार्यसूचीमा राखिएको छ। बैठकमा आज १९४ जना केन्द्रीय सदस्य सहभागी भएका थिए। बैठक भोलि सोमबार बिहान ११ बजे पुनः पेरिसडाँडामा बस्नेगरी स्थगित भएको श्रेष्ठले जानकारी दिए।