विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
भोलि चैत २ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले आज आइतबार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
माघ ७ गतेदेखि सुरु भएको सातौं तथा हिउँदे अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाहेक अन्य बिजनेस छैन। मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते तत्कालिन नेकपाका ३७ सांसदले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए।
फागुन ९ गते प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश भएपछि फागुन २० गतेको बैठक सूचना टाँसेर चैत २ गते बस्ने गरी स्थगित गरिएको थियो।
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा परेको हो। प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावबारे के गर्ने भनेर सभामुख भण्डारीले छलफल थालेका छन्। सोमबारको बैठकमा माओवादी केन्द्रले अनुपस्थित हुने संकेत गरेको थियो।
उसले संसदीय दलको नेता नै एमालेमा प्रवेश गरेको र चैत १ गते काठमाडौंमा भेला राखिएकाले बैठकमा उपस्थित नहुने पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले संकेत गरेका थिए। अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउन सभामुख भण्डारीलाई कानुनी जटिलता पनि छ।
सर्वोच्चको फैसलापछि मुख्यमन्त्री राई सुरक्षित छन्। किनभने प्रदेश १ मा एमाले एक्लैको बहुमत छ।