काठमाडौं - सहिद स्मारक ‘बी’ डिभिजन लिग सकिएको तीन दिनपछि आज (आइतबार)बाट सहिद स्मारक ‘सी’ डिभिजन लिग–२०७६ सुरु हुँदैछ।
गत वर्षको चैतमा सुरु गर्ने भनिए पनि कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको लिग आज (चैत १)बाट सुरु हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत पुस १० गते बैठक ‘सी’ डिभिजन क्लबसँग छलफल गरेर लिग सुरु गर्ने निर्णय गरेको थियो।
साथै यसअघिसम्म ‘सी’ डिभिजन तयारीका लागि एन्फाले लागि सात लाख रूपैयाँ दिँदै आएकामा महामारीको प्रभाव परेपछि एन्फाले सबै १४ क्लबलाई समान ९–९ लाख तयारी खर्च उपलब्ध गराएको थियो।
पुसयताको तयारीपछि आजबाट सुरु हुने लिग आगामी चैत २४ गते सकिने छ।
प्रतियोगिताका दौरान चैत १२, १५ र १७ गते मात्र ‘रेस्ट’ दिइएको छ।
यसबाहेक हरेक दिन दुई खेल हुनेछन्।
लिगमा सम्मिलित १४ क्लबलाई दुई समूहमा बाँडिएको छ।
जहाँ समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युवा क्लब, मनोहरा युनाइटेड क्लब, सानोगौचरन, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन्।
त्यस्तै समूह ‘बी’अन्तर्गत प्लानिङ ब्वाइज क्लब, ओएसीस, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड र चर्च बोइज युनाइटेड रहेका छन्।
लिगअन्तर्गत आज समूह ‘ए’ को एक र समूह ‘बी’को एक खेल हुनेछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको पहिलो खेलमा खालीबारी युथ क्लबले झापा एफसीसँग खेल्ने छ। पहिलो खेल आज साढे १२ बजेबाट सुरु हुँदै छ।
आजको दोस्रो खेलमा समूह ‘बी’को ओएसिस ब्वाइज क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ।
लिगका सबै खेल सातदोबाटोस्थित एन्फाको कृत्रिम मैदानमा हुनेछ।