काठमाडौं - आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाकाे सम्भावना छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताए।
प्री–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ।
मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे सम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ।
उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ।
हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।