काठमाडौं- जनता समाजवादी पार्टी, जसपाका नेता लक्ष्मणलाल कर्णले सरकार गठनका विषयमा प्रधानमन्त्री ओली आफूहरुसँग सकारात्मक रहेको बताएका छन्।
उनले प्रधानमन्त्री ओली जसपाले उठाएको मुद्दा सम्बोधनका लागि सकारात्मक रहेको बताएका हुन्।
रिपोर्टस् क्लबमा अयोजित कार्यक्रममा कर्णले सरकार गठनका लागि आफूहरु सबै पार्टीसँग छलफलमा रहेको पनि बताए। आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनको भनाइ छ।
कर्णले भने, ‘हाम्रो माग र मुद्दामा ओलीले सकारात्मक छु भन्नुभएको छ। तर, ठोस सहमति भएको छैन। तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाइको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ।’
उनले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाए। उनले भने, ‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ। तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन। अहिले हामीले घट्नाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौँ। दुई÷चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौं।’
उनले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे। उनले भने, ‘उहाँसँग हामीलाई कुनै नफरत छैन, भेदभाव छैन, अछुतो पनि छैन। माग पुरा गर्नुभयो भने सहकार्य हुन्छ।’ उनले प्रधानमन्त्री ओलीले आफूहरुलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको पनि जानकारी दिए।
उनले आफूहरु पुरा कार्यकाल नै संसद चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए। यद्यपि संसद चल्नै सक्ने अवस्था भएन भने निर्वाचनबाट भागेर पनि नजाने उनको प्रतिक्रिया थियो। उनले भने, ‘हामी त यो प्रतिनिधिसभाको पुरा कार्यकालको पक्षमा छौँ। यदि संसद् चल्ने अवस्था भएन भने चुनाव त अन्तिम विकल्प हो।’