मकवानपुर - हेटौंडा-नारायणगढ सडकखण्डमा पर्ने मनहरि गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक ठाेक्किँदा तीनजनाको मृत्यु भएको छ।
झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान ठाेक्किँदा दुर्घटना भएकाे हाे।
मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन्।
घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस