रसुवा - अपांगता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य अगाडि बढाइएको छ।
रसुवा अपांग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपांगताको पहिचान गर्ने परिचय प्रदान गरिसकिएकाे छ।
पछिल्लो आकलनअनुसार अपांगता भएका व्यक्ति जिल्लामा करिब एक हजार छन्। अपांगता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपांग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिए।
अपांगता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ।
यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपांगता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ।
ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिए। रासस