काठमाडौं - नेकपा एमालेको नेपाल-खनाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान ११ बजे बैठक बोलाइएको हो।
त्यस्तै चैत ४ गते राष्ट्रिय भेला पनि बोलाइएको उनको भनाइ छ।
शुक्रबार पनि माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटी बैठक बसेको थियो।
सो बैठकले पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ।
साथै माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष निकालेको छ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै पूर्वमाओवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।
उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने निर्णय लिएको हो।