काठमाडौं- नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षीय स्थायी कमिटी बैठकले आज पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित एक होटलमा आज शुक्रबार साँझ बसेको उक्त समूहको स्थायी कमिटी बैैठकले माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष निकालेको छ।
आज ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै पूर्वमाओवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो। उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने निर्णय लिएको हो।
नेपाल खनाल समूहले पनि चैतको पहिला साता समानान्तर कमिटीहरु घोषणा गर्ने बताइएको छ। साथै भोलि शनिबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ।
केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे बोलाइएको छ।