काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएर गरेका निर्णयहरु आफूहरुले नमान्ने बताएका छन्।
ओली समूहको केन्द्रीय कमिटी बैठकपछि आकस्मिक भेला गरेको माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले अनाधिकृत, गुटगत, स्वेच्छाचारी र पार्टीको विधानविपरितको काम गरेको भन्दै यसको विरोध गर्ने नेता रावलले बताए।
उनले भने, ‘ओलीले पार्टीको विधान मिचेर, जसलाई मन लाग्यो त्यसलाई हटाएँ भन्ने जसलाई मनलाग्यो त्यसलाई नियुक्त गरेँ जस्तो निर्लज्ज कुरा कँही कतै पनि हुँदैन, त्यो हामीले स्वीकार गर्ने कुरै छैन।’
उनले ओलीले पहिले नेकपा माओवादी केन्द्रसँगको एकीकरणलाई असफल बनाएको र अहिले एमाले नै असफल बनाएर कम्युनिष्ट आन्दोलन कममोर पार्न खोजेको आरोप लगाए।
उनले ओलीको कदमको विरोधका लागि सार्वजनिक आह्वान गर्नुपर्ने अवस्था आएको पनि आफूहरुको ठहर रहेको बताए।
उनले पदलोलुपहरुलाई पार्टीमा स्पेस दिएर क्रियाशिल नेताहरुमाथि कारबाही गर्ने स्वेच्छाचारी निर्णयले नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासायी गर्ने काम भएको बताए।
शुक्रबार दिउँसो ओली समूहको बैठक बसेर आफ्नो विपक्षमा रहेका सबै पदाधिकारीको पद खोसको थियो। साथै नेकपा माओवादी केन्द्र छोडेर ओली नेतृत्वको सरकारमा मन्त्री रहेका नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको थियो।
ओली समूहले चैत ७ गतेका लागि पुनः केन्द्रीय कमिटी बैठक बोलाएको उक्त समूहका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।