काठमाडौं– सर्वोच्च अदालतबाट पुनर्स्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा इन्चार्जका साथै अन्य जिम्मेवारीहरु तोकेको छ।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका भएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकेको छ। त्यसैगरी प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन्।
बैठकले सातै प्रदेशका अध्यक्ष र सचिव पनि ताेकेकाे छ। जसअनुसार प्रदेश १ काे अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनाेद ढकाल, २ नम्बरकाे अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल, बागमती प्रदेशकाे अध्यक्षमा आनन्द पाेखरेल र सचिव खेम लाेहनी, गण्डकी अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गाेविन्द नेपाली ताेकिएका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशकाे अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का, कर्णालीकाे अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी तथा सुदूरपश्चिमकाे अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल ताेकिएका छन्।
बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन्। भट्टराई प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार पनि हुन्।
प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन्। स्कुल विभाग प्रमुखको जिम्मेवारी भने अध्यक्ष ओली आफैंले लिएका छन्।
नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनको नेतृत्व हाललाई यथावत् रहने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
केन्द्रीय कमिटीको अर्को बैठक चैत ७ गते बस्ने तय भएको छ। आजको बैठकमा उपस्थित नभएका नेपाल, खनाललगायत केन्द्रीय सदस्यहरुलाई पनि आगामी बैठकमा बोलाउन अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए।
आजको बैठकमा माधव नेपाल तथा झलनाथ खनाल पक्षका कोही पनि उपस्थित थिएनन्।