काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले पार्टी नेताको जिम्मेवारी हेरफेर गरेको छ।
शुक्रबार बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेताहरूको जिम्मेवारीसमेत खोसेको हो।
बैठकले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित पनि गरेको ओली समूहका नेता राजेन्द्र गौतमले जानकारी दिए।
एमालेमा यसअघि २४१ सदस्यीय केन्द्रीय कमिटी थियो।
उनका अनुसार बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ। यसअघि प्रवक्ता नेपाल–खनाल पक्षका योगेश भट्टराई थिए।
त्यस्तै ओली पक्षको बैठकले खनाल–नेपाल पक्षसँग सल्लाह नगरी महाधिवेशनको मिति पनि तोकेको छ।
गौतमका अनुसार बैठकले मंसिर २ देखि ६ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।