काठमाडौं- जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले वर्तमान सरकारसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकपछि उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने अडानमा आफूहरु रहेको भन्दै सहकार्य नहुने बताए।
यादवले भने, ‘हाम्रो पार्टी स्पष्ट छ, प्रतिगमनकारी, लोकतन्त्र विरोधी, संघीयता विरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा सहकार्य हुन सक्दैन।’
उनले थपे, ‘हामी संघीयता पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधर शक्तिहरुको बीचमा सहकार्य, समन्वय र सामञ्जस्य गरेर मुलुकलाई निकास दिनुपर्दछ भन्नेमा दृढ छौँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरिसकेकाले उनले राजीनामा दिनुपर्ने बताए।
यादवले भने, ‘अहिलेको अवस्था भन्ने हो भने सर्वोच्च अदालतलेसमेत प्रधानमन्त्रीले असंवैधानिक कार्य गरेको भनेर ठहर गरेपछि, संविधान उल्लंघन गर्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने जसपाको स्पष्ट अडान छ।’
यसअघि जसपाका अर्का नेता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी सरकारमा जाने मुसा दौडामा नरहेको बताएका थिए।
जसपाभित्र पूर्व राजपा र पूर्व समाजवादी पार्टीका नेताहरुबीच सरकारमा जाने विषयमा सामान्य मत भिन्नता देखिएको छ।
नेता यादवले जसपाले गठन गरेको कार्यदल सांसद रेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता गर्नका लागि मात्र बनाइएको भन्दै उक्त कार्यदलले सरकारमा जाने वा सरकारलाई समर्थन गर्ने विषयमा छलफल नगर्ने बताए।