काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल पक्षले एमाले क्याप्चर गरेर ओलीलाई बाहिर हटाउने स्थिति बन्ने बताएका छन्।
रुपन्देहीमा आज भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दाहालले त्यसो हुन नसके बिद्रोह गरेर भए पनि आफूहरू सँगै भएर कम्युनिष्टको ठूलो शक्ति निर्माण हुने बताएका हुन्।
‘फेरि एकतातिर नै लैजानुपर्छ भन्ने माधव नेपाल, झलनाथ खनालहरूसँग छलफल भएको छ,’ उनले भने, ‘सबैसँग छलफल गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ।’
उनले आफ्ना कार्यकर्ताहरूलाई माधव नेपाल पक्षीय कार्यकर्ताहरूसँग सम्बन्ध राम्रो बनाइरहन निर्देशनसमेत दिए। ‘पूर्वएमाले साथीहरू फेरि एमालेमा जाँदैनौं भन्ने लाग्छ भने हेडक्वार्टरमा सम्पर्क गरेर मात्रै निर्णय गर्नुस्,’ उनले भने, ‘केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्।’
‘फर्कन पर्दैन उतै बसे हुन्छ’
एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवादीबाट मन्त्री बनेकाहरूलाई अध्यक्ष दाहालले आफ्नो पार्टीमा नफर्कन भनेका छन्।
‘बद्मासी गरेकालाई गृहमन्त्री बनाइयो, अरू पनि बिग्रेका कुच्चेकालाई फकाउँदाफकाउँदा हैरान भइयो,’ उनले भने, ‘त्यस्ता मान्छेलाई अब फकाउन छोड्या छु, ती फर्किन पर्दैन उतै बसे हुन्छ।’
तर, अब आफ्नै खुट्टामा उभिनुपर्ने दाहालको भनाइ छ। ‘दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत हामीसँग छ,’ उनले भने, ‘काठमाडौंमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, आफ्नै ऊर्जा पनि खतम भयो। अब जिल्लातिर धेरै समय बिताउने छु।’