काठमाडौं– सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच शुक्रबार पनि वार्ता हुँदै छ। अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलस्तरीय छलफल हुन लागेको हो।
जसपाका नेताहरूले आज हुने वार्ता निष्कर्षमा पुग्ने बताएका छन्। यसअघि बिहीबार जसपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
नेताहरूले प्रधानमन्त्रीसँग आफ्ना मागका बारेमा छलफल गरेका थिए। जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले सरकारसँग थप छलफल हुन लागेको जानकारी दिए।
जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनाएको छ। आज थप एकजना कार्यदलमा थप्ने जसपाको तयारी छ।
सरकारका तर्फबाट कार्यदलमा एमालेका उपनेता सुबास नेम्बाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।
जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीलगायत अन्य नेताकार्यकर्ताको रिहाइ हुनुपर्ने, उनीहरूमाथि लागेको मुद्दा फिर्ता गर्नुपर्ने र संविधान संशोधन लगायतका माग राखेको छ।